रौतहट ८ पुस
विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पूर्ण पालना गर्दै व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले शान्ति सुरक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक निलेश पाठक मिति २०८२ साल मंसिर महिनाको ‘महिनाको उत्कृष्ट प्रहरी (Police of the Month)’ का रूपमा चयन भएका छन् । प्रहरी सहायक निरीक्षक पाठकले उच्च मनोबल, साहस र सक्रियताका साथ अपराध नियन्त्रण तथा अनुसन्धानका विभिन्न कार्यमा उल्लेखनीय सफलता हासिल गरेका छन् । मिति २०८२/०८/०५ गते चन्द्रपुर नगरपालिका–६ बाट फरार प्रतिवादी रामेश्वर राउत लाई पक्राउ गर्न सफल हुनुका साथै मिति २०८२/०८/०९ गते चन्द्रपुर नगरपालिका–४ मा सवारी साधनको प्रतीक्षामा रहेका दिनेश कुमार कोली को साथबाट नक्कली गुट्खाका ३ बोरा बरामद गरी पक्राउ गरिएको थियो ।
त्यसैगरी, मिति २०८२/०८/१३ गते विशेष सूचनाको आधारमा चन्द्रपुर नगरपालिका–४ निवासी भोला साह कलवार लाई चेकजाँच गर्दा निजको साथबाट लागूऔषध खैरो हिरोइन १९० मिलिग्राम बरामद गरी पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। मिति २०८२/०८/१४ गते चन्द्रपुर नगरपालिका–६ निवासी राजेश राई लाई लागूऔषध खैरो हिरोइनको बेचबिखन गरिरहेको अवस्थामा पक्राउ गर्न सफल भएका थिए ।
यसका अतिरिक्त, मिति २०८२/०८/१६ गते चोरी तथा डकैतीमा संलग्न भई फरार रहेका आस महमद, विशाल महर्जन, नवराज झा, अतुलेश दास र शुभम कुशवाहा लाई CCTV फुटेजको सूक्ष्म विश्लेषणका आधारमा चन्द्रपुर नगरपालिका–५ क्षेत्रबाट पक्राउ गरी अपराध अनुसन्धानमा प्रशंसनीय कार्य गरेका छन्।
उक्त उत्कृष्ट कार्य सम्पादनबाट प्रहरीको छवि उच्च बनाएको ठहर गर्दै इलाका प्रहरी कार्यालय शिवनगर रौतहट दरबन्दी भई मातहत इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक निलेश पाठकलाई मंसिर महिनाको ‘Police of the Month’ घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ ।
उक्त अवसरमा यस कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविन कार्की ले प्रहरी सहायक निरीक्षक पाठकलाई प्रशंसा–पत्र प्रदान गर्दै उज्ज्वल भविष्य, व्यक्तिगत तथा व्यवसायिक जीवनको सफलताको शुभकामना व्यक्त गर्नु भएको छ।

