राैतहट ८ पुस
रौतहटकाे दुर्गा भगवती गाउँपालिका वडा नं. ५ बडहरवामा आजदेखि सर्वसाधारणका लागि लक्षित बृहत् निःशुल्क आँखा स्वास्थ्य शिविर सञ्चालनमा आएको छ। गाउँपालिका अध्यक्ष शम्भू सिंहको पहलमा आयोजना गरिएको उक्त शिविरले ग्रामीण भेगका नागरिकलाई प्रत्यक्ष लाभ पुर्याउने अपेक्षा गरिएको छ। शिविर तिलगंगा आँखा प्रतिष्ठान तथा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल, बाराको आयोजनामा सञ्चालन भइरहेको छ भने अन्तर्राष्ट्रिय सहयोगी संस्था अपरेशन रिइसको प्राविधिक तथा आर्थिक सहयोग रहेको छ। शिविरमार्फत दृष्टि परीक्षण, मोतिबिन्दु रोगको पहिचान, शल्यक्रियाका लागि बिरामी छनोट तथा चस्मा जाँचजस्ता सेवाहरू निःशुल्क रूपमा प्रदान गरिँदैछ। आँखा उपचारका लागि टाढा जानुपर्ने बाध्यता न्यूनीकरण गर्ने उद्देश्यले गाउँमै स्वास्थ्य सेवा पुर्याइएको गाउँपालिका अध्यक्ष सिंहले जानकारी दिनुभयो। उहाँका अनुसार जनस्वास्थ्यलाई प्राथमिकतामा राखेर यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
शिविरमा दक्ष आँखा स्वास्थ्यकर्मी, स्वयंसेवक तथा स्थानीय जनप्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको छ। स्थानीय बासिन्दाहरूले गाउँमै गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराएकोमा गाउँपालिका, आयोजक संस्था तथा सहयोगी निकायप्रति धन्यवाद व्यक्त गरेका छन् ।

