राैतहट ८ पुस
रौतहट जिल्लाको बृन्दावन नगरपालिका–८ स्थित आकडपाथडमा निर्माणाधीन शुद्ध खानेपानी ओभरहेड ट्यांकीका लागि डिप बोरिङ्ग कार्यको शिलान्यास गरिएको छ। मंगलबार आयोजित एक कार्यक्रममा नगर प्रमुख बिनोद प्रसाद कुर्मीले पूरोहितद्वारा मन्त्रवाचन गराई डिप बोरिङ्गको औपचारिक शिलान्यास गर्नुभएको हो । अन्तिम चरणमा पुगेको उक्त खानेपानी आयोजना सम्पन्न भएपछि बृन्दावन नगरपालिका वडा नम्बर ८ र ९ का करिब सात हजार उपभोक्ता प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। शिलान्यास कार्यक्रममा नगर प्रमुख कुर्मीसँगै वडा नम्बर ८ का अध्यक्ष रबिन्द्र प्रसाद साह तथा वडा नम्बर ९ का अध्यक्ष प्रवेज आलमले संयुक्त रूपमा सहभागिता जनाएका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कुर्मीले जनताको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्दै शुद्ध खानेपानीको पहुँच विस्तार गर्ने नगरपालिकाको प्रतिबद्धता दोहोर्याउनुभयो। उहाँले स्थानीय बासिन्दालाई सुरक्षित र शुद्ध खानेपानी उपलब्ध गराउनु नगरपालिकाको मुख्य लक्ष्य रहेको स्पष्ट पार्नुभयो ।

स्थानीयवासीहरूले लामो समयदेखि भोग्दै आएको खानेपानी समस्याको समाधानतर्फ यो आयोजना महत्वपूर्ण कदम हुने अपेक्षा गरिएको छ।

