रौतहट ७ पुस
मधेश प्रदेशसहित रौतहट जिल्लामा शीतलहरका कारण अत्यधिक चिसो बढेपछि गौर नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरू पाँच दिनका लागि बन्द हुने भएका छन् । गौर नगरपालिकाले सोमबार बसेको नगरस्तरीय बैठकबाट पुस ८ गते मंगलबारदेखि ११ गते शुक्रबारसम्म नगरभित्र सञ्चालित सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
नगरपालिकाका अनुसार लगातार बढ्दो चिसो र शीतलहरले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै अस्थायी रूपमा विद्यालय बन्द गर्ने निर्णय गरिएको हो। विशेषगरी बिहान–बेलुकी बाक्लो हुस्सु र चिसो हावाका कारण विद्यार्थीहरू विद्यालय आवतजावतमा समस्या भोग्दै आएका थिए। नगरपालिकाले अभिभावक तथा विद्यालय प्रशासनलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै मौसम सामान्य भएपछि पुस १३ गते आइतबारबाट पठनपाठन पुनः सुचारु गरिने जनाएको छ।

