शीतलहरले मधेसलाई छोप्दा राैतहट मुसहर बस्तीमा जीवन संकट

रौतहट, ७ पुस
मधेसमा पछिल्ला केही दिनदेखि निरन्तर चलिरहेको शीतलहरले जनजीवन कष्टकर बनेको छ । विशेषगरी रौतहटको चन्द्रपुर नगरपालिका–९, चेतनगरस्थित मुसहर बस्तीका विपन्न परिवारहरूका लागि जाडो जीवन र मृत्युसँगको संघर्ष जस्तै बनेको छ ।


चार दिनदेखि चिसो असह्य बन्दै जाँदा फुसका घरमा बसोबास गर्ने सर्वसाधारण रात काट्न गुन्द्री, पराल र आगोको सहारा लिन बाध्य भएका छन् । न्यानो कपडा र ओढ्नेको अभावले बालबालिका, वृद्धवृद्धा तथा महिला सबैभन्दा बढी प्रभावित भएका छन् । दैनिक ज्यालामजदुरी गरेर परिवार पाल्दै आएका चन्द्र माझीले चिसोका कारण काममा निस्कन नसक्दा जीविकोपार्जन नै संकटमा परेको बताउनुभयो । “काम भएन भने घरमा चुलो बल्दैन, जाडो र भोक दुबैसँग लड्नुपर्छ,” उहाँको पीडा छ । उक्त बस्तीकी वृद्धा देवरतिया देवीको अवस्था झनै दयनीय छ । सानो फुसको घर, न्यानो लुगा र कम्बलको पूर्ण अभावका बीच उहाँ परालकै गुन्द्री ओडेर रात बिताइरहनुभएको छ । “चिसोले शरीर थर्थर काँप्छ, निद्रा लाग्दैन,” उहाँले बताउनुभयो । ६५ वर्षीया भुटनी देवी माझी पनि जाडो सुरु भएदेखि परालले बुनेको गुन्द्रीकै भरमा रात काट्दै आउनुभएको छ । चिसोले शरीर कठोर बन्दै गएको र बिरामी पर्ने डर बढेको उहाँको गुनासो छ । प्रत्येक वर्ष शीतलहर र हुस्सुले रौतहटका दलित तथा विपन्न बस्तीलाई प्रभावित गर्दै आए पनि यस वर्ष पनि आवश्यक तयारी र राहत वितरण नहुँदा समस्या झनै चर्किएको स्थानीयको भनाइ छ । आगो तापेर रात बिताउनु यहाँका बासिन्दाहरूको दैनिकी बनेको छ । स्थानीयवासीहरूले जाडो अझै बढ्ने सम्भावना रहेको भन्दै चेतनगरको मुसहर बस्तीमा तत्काल न्यानो कपडा, कम्बल तथा अत्यावश्यक राहत सामग्री वितरण गर्न स्थानीय तह र प्रदेश सरकारसँग आग्रह गरेका छन् । समयमै पहल नभए, यो शीतलहरले गरिब बस्तीमा गम्भीर मानवीय संकट निम्त्याउने जोखिम रहेको उनीहरूको चेतावनी छ ।

ताजा समाचार

Related Articles