चन्द्रपुर–४ मा बृहत रक्तदान अभियान आयोजना हुँदै

राैतहट ७ पुस
रौतहटको चन्द्रपुर नगरपालिका–४ मा रक्तको अभाव न्यूनीकरण गर्ने उद्देश्यले बृहत रक्तदान अभियान आयोजना गरिने भएको छ। पछिल्लो समय अधिराज्यभरि रक्तको गम्भीर अभाव देखिँदै गएपछि सो अभाव पूर्ति गर्न स्थानीय स्तरबाट मानवीय पहलस्वरूप उक्त अभियान सञ्चालन गर्न लागिएको हो। अस्पतालमा उपचाररत धेरै बिरामीहरू रक्तको अभावका कारण छटपटाइरहेको अवस्थालाई मध्यनजर गर्दै “रक्तदान जीवनदान” भन्ने मूल नारासहित अभियान सञ्चालन गरिन लागेको आयोजकले जनाएको छ। अभियानमा नगरवासी, युवाहरू, समाजसेवी तथा मनकारी व्यक्तिहरूको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ। उक्त बृहत रक्तदान अभियान मिति २०८२ साल पौष ११ गते शुक्रबार, चन्द्रपुर–४ स्थित भगवती मार्केटभित्र आयोजना हुनेछ। कार्यक्रम बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुने जनाइएको छ। अभियानको आयोजना तथा सेवा सहकार्य चन्द्रोदय साकोस परिवार, चन्द्रपुर–४ रौतहट ले गर्ने भएको छ। आयोजकले रक्तदान गर्न सक्षम सम्पूर्ण मनकारी नागरिकहरूलाई कार्यक्रममा उपस्थित भई अमूल्य जीवन बचाउने यस पुण्य कार्यमा सहभागी हुन हार्दिक अनुरोध गरेको छ। रक्तदानले एकातर्फ बिरामीलाई नयाँ जीवन दिन सहयोग पुग्नेछ भने अर्कोतर्फ समाजमा मानवतामूलक सन्देश फैलिने विश्वास आयोजकको रहेको छ।

ताजा समाचार

Related Articles