माधवनारायण नगरपालिकामा नालासहित पक्की सडक निर्माण तीव्र, मेयर स्वयं अनुगमनमा

राैतहट ७ पुस
रौतहटको माधवनारायण नगरपालिकामा पूर्वाधार विकासले गति लिएको छ। नगरलाई व्यवस्थित र समृद्ध बनाउने लक्ष्यसहित नगर प्रमुख बैजनाथ प्रसाद यादवको नेतृत्वमा जीर्ण अवस्थामा रहेका सडकहरूको स्तरोन्नति कार्य तीव्र रूपमा अगाडि बढाइएको छ। यसैक्रममा माधोपुरस्थित पैनीदेखि धार्मिक स्थल ब्रह्मबाबाको मन्दिरसम्म नालासहित पक्की सडक निर्माणको काम तीव्र गतिमा भइरहेको छ। लामो समयदेखि कच्ची र हिलाम्मे अवस्थामा रहेको उक्त सडक वर्षायाममा हिलो र हिउँदमा धुलोले भरिने हुँदा स्थानीयवासीले सास्ती खेप्दै आएका थिए। नगरपालिकाका अनुसार वर्षौंदेखि उपेक्षित रहेको यस सडकलाई प्राथमिकतामा राख्दै नाला सहित पक्कीकरण गर्ने निर्णय कार्यान्वयनमा ल्याइएको हो। हाल सडकको दुवैतर्फ नाला निर्माणका लागि खाल्डो खन्ने कार्य जारी रहेको छ। नाला निर्माण सम्पन्न भएपछि सडकलाई गुणस्तरीय ढंगले पक्की बनाइने योजना रहेको नगरपालिकाले जनाएको छ। निर्माण कार्यको प्रभावकारी कार्यान्वयनका लागि नगर प्रमुख यादव स्वयं निर्माणस्थलमा पुगेर डोजरमार्फत नाला खन्ने कार्यको अनुगमन तथा व्यवस्थापनमा सक्रिय देखिएका छन्। जनप्रतिनिधि प्रत्यक्ष रूपमा विकास निर्माणमा खटिएको देख्दा स्थानीय बासिन्दा उत्साहित बनेका छन् ।स्थानीयवासीहरूले नगर प्रमुखको सक्रियता र पहलप्रति आभार व्यक्त गर्दै अब वर्षायाममा पानी जम्ने समस्या हट्ने र आवतजावत सहज हुने विश्वास व्यक्त गरेका छन्। साथै सडक निर्माणपछि ब्रह्मबाबाको मन्दिरसम्म पुग्न सजिलो हुनुका साथै स्थानीय व्यापार, शिक्षा र सामाजिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
नगरपालिकाले आवश्यकता र प्राथमिकताको आधारमा अन्य वडाहरूमा पनि यस्तै नालासहित पक्की सडक निर्माणलगायतका विकास योजनाहरू क्रमशः अघि बढाइने जानकारी दिएको छ ।

ताजा समाचार

Related Articles