राैतहट ७ पुस
रौतहटको चन्द्रनिगाहपुरमा सञ्चार माध्यमको वर्तमान अवस्था र चुनौतीबारे केन्द्रित एकदिने गोष्ठी सम्पन्न भएको छ। सोमबार चन्द्रनिगाहपुरस्थित होटल गौतममा आयोजित उक्त कार्यक्रममा रौतहट र सर्लाही जिल्लाका सञ्चार माध्यमका सञ्चालक तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो । मधेश प्रदेश सरकारलाई आम सञ्चार क्षेत्रको अवस्था र चुनौतीबारे प्रतिवेदन तयार गरी समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश कुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार मिडिया काउन्सिलको रोहवरमा सञ्चार माध्यमले भोगिरहेका समस्यालाई संस्थागत रूपमा उठाउने लक्ष्य लिइएको छ।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सभाका सदस्य तथा पूर्व मन्त्री युवराज भट्टराई ‘समीर’ले पत्रकारिता र राजनीतिमा स्पष्ट मापदण्ड नहुँदा विकृति बढ्दै गएको बताउनुभयो। उहाँले अन्य पेशामा जस्तै निश्चित शिक्षा, तालिम र लाइसेन्सको व्यवस्था पत्रकारिता र राजनीतिमा पनि आवश्यक रहेको उल्लेख गर्दै मापदण्डविहीन प्रवेशले पेशागत विश्वसनीयतामा असर परेको धारणा व्यक्त गर्नुभयो ।
गोष्ठीमा सहभागी पत्रकारहरूलाई समूहगत छलफलमा सहभागी गराइँदा विभिन्न कारणले पत्रकारिता पेशा जोखिममा पर्दै गएको अनुभव साझा गरिएको थियो। सहभागीहरूले पत्रकारितालाई मर्यादित, सुरक्षित र सबल बनाउन नेपाल सरकारले आम सञ्चार नीतिलाई समयानुकूल परिमार्जन गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जरा, नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ओम प्रकाश ठाकुर, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष संजय कार्की लगायत रौतहट र सर्लाहीका सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

