रुपेन्द्र पटेल
रौतहट, ६ पुस ।
रौतहटको राजपुर नगरपालिकाले आफ्ना सवारी चालक रोज कमरुल होदाको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै आज आइतबार एक दिनका लागि शोक बिदा दिएको छ । नगरपालिकाको निर्णयअनुसार नगरपालिका कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालयहरू आज बन्द रहनेछन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले सूचना जारी गर्दै स्थायी सवारी चालकका रूपमा कार्यरत होदाको निधनले सम्पूर्ण नगर परिवार शोकाकुल बनेको जनाएको छ । उनको सम्मान तथा श्रद्धाञ्जली स्वरूप शोक बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख गरिएको छ ।
सूचनाअनुसार नगर कार्यपालिका कार्यालय, सबै वडा कार्यालय, शिक्षा, स्वास्थ्यलगायत नगरपालिका अन्तर्गतका सम्पूर्ण निकायहरू आज एक दिनका लागि बन्द रहनेछन् । अत्यावश्यक सेवाबाहेकका सेवा प्रवाह स्थगित गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले स्वर्गीय होदाले आफ्नो सेवा अवधिभर जिम्मेवारीप्रति इमान्दार, कर्तव्यनिष्ठ र अनुशासित ढंगले कार्य गरेको स्मरण गर्दै उहाँको योगदान सधैं सम्झिरहने जनाएको छ ।
सवारी चालक रोज कमरुल होदाको गत शुक्रबार राति करिब ९ बजेको समयमा निधन भएको थियो । निधनको कारण भने सार्वजनिक गरिएको छैन । नगरपालिकाले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।

