रौतहट ४ पुस
जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रपुर, रौतहटले आज चन्द्रपुर–४ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्राफिक सचेतना अभियानको सुरुवात गरेको छ। इलाका प्रहरी कार्यालय अगाडि सन्देशमूलक बोर्ड राख्दै अभियान औपचारिक रूपमा प्रारम्भ गरिएको हो । अभियानअन्तर्गत राजमार्गदेखि गौर रोडको तल्लो बजारसम्म विभिन्न स्थानमा ‘नो पार्किङ’, मादक पदार्थ सेवन गरी सवारी नचलाऔँ, पैदल यात्रुका लागि जेब्रा क्रसिङ प्रयोग गरौँ, सुरक्षित रूपमा बाटो काटौँ लगायतका दर्जनौँ सन्देशमूलक बोर्डहरू स्थापना गरिएको छ । जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरका अनुसार यस अभियानले नगरवासी र राजमार्ग प्रयोग गर्ने यात्रुहरूको ध्यान ट्राफिक नियमतर्फ केन्द्रित गर्ने विश्वास लिइएको छ । “सचेतनाले नै दुर्घटना न्यूनीकरणमा प्रभावकारी भूमिका खेल्छ,” उहाँले बताउनु भयो । उक्त अभियानमा सञ्चारकर्मी, व्यापारी तथा विभिन्न व्यवसायीहरूको समेत उपस्थिति रहेको थियो। बोर्ड निर्माण तथा सहयोग महालक्ष्मी पेन्टको सौजन्यमा गरिएको जनाइएको छ । जिल्ला ट्राफिक कार्यालयले अभियान सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै ट्राफिक नियमको पालना गर्न सबैमा अपिल गरेको छ ।

