रौतहट ४ पुस
रौतहटको सदरमुकाम गौरमा आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै उद्योग वाणिज्य संघ रौतहटले बिहीबार विरोध प्रदर्शन गरेको छ । वर्षौंदेखि करसम्बन्धी सामान्य कामका लागि समेत छिमेकी जिल्ला बाराको सिमरा जानुपर्ने बाध्यताको अन्त्यको माग गर्दै व्यवसायीहरू सडकमा उत्रिएका हुन् । प्रदर्शनका क्रममा व्यवसायीहरूले विभिन्न नारासहित कर कार्यालय अगाडि धर्ना दिएका थिए । सामान्य कर तिर्न, कर चुक्ता प्रमाणपत्र लिन तथा प्यान र भ्याट सम्बन्धी कामका लागि रौतहटबाट सिमरा पुग्नुपर्दा समय र पैसा दुवैको अनावश्यक खर्च हुने गरेको व्यवसायीहरूको गुनासो रहेको छ । उद्योग वाणिज्य संघ रौतहटका महासचिव सन्तोष केशरीले यो समस्या ठूला उद्योगी मात्र नभई साना पसल तथा व्यवसाय सञ्चालन गर्नेहरूका लागि समेत अत्यन्तै झन्झटिलो र खर्चिलो बनेको बताउनु भयो । “कर बुझाउनु नागरिकको कर्तव्य हो, तर कर बुझाउने प्रक्रियालाई नै यति कष्टकर बनाइनु दुःखद कुरा हो,” महासचिव केशरीले भनेका छन । संघका अध्यक्ष रवि यादवले जिल्ला सदरमुकाममै महत्वपूर्ण प्रशासनिक कार्यालयहरू नहुँदा गौरको आर्थिक चहलपहल र व्यापारिक गतिविधिमा गिरावट आएको उल्लेख गरे ।“हामी राज्यलाई कर तिर्न सधैँ तयार छौँ, तर कर तिर्नकै लागि दिनभरको समय र हजारौँ रुपैयाँ खर्च गरेर अर्को जिल्ला जानुपर्ने बाध्यता कहिलेसम्म रहने ?” अध्यक्ष यादवले प्रश्न गरेका छन । प्रदर्शनका क्रममा संघका प्रतिनिधिहरूले गौरमा तुरुन्त आन्तरिक राजस्व कार्यालय वा कम्तीमा राजस्व सेवा केन्द्र स्थापना गर्न सरकारसँग माग गरेका छन् । यथाशीघ्र माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाइने र व्यवसाय ठप्प पार्ने कार्यक्रम समेत ल्याउन सकिने चेतावनी संघले दिएको छ । व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालयमार्फत अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउँदै आफ्ना माग चाँडोभन्दा चाँडो पूरा गर्न आग्रह गरेका छन ।

