रौतहट ४ पुस
रौतहटको सदरमुकाम गौरसहित तराईका विभिन्न जिल्लाहरूमा शुक्रबारबाट चिसोको मात्रा अस्वाभाविक रूपमा बढेको छ । आज बिहानदेखि बाक्लो हुस्सुले वातावरण ढाकिएको छ भने चिसो हावाले दैनिक गतिविधिमा अवरोध पुर्याएको छ । कतिपय स्थानमा हल्का शितलहर समेत भइरहेकाले चिसो अझ तीव्र बनेको स्थानीयहरूले बताएका छन् । चिसोका कारण बजार, विद्यालय तथा खुला स्थानमा हुने गतिविधिमा कमी आएको छ । विशेषगरी बालबालिका, वृद्धवृद्धा र दैनिक ज्यालादारी मजदुरहरू बढी प्रभावित भएका छन । चिसो बढेसँगै अस्पताल तथा स्वास्थ्य संस्थामा रुघाखोकी, ज्वरो लगायतका बिरामीको सङ्ख्या पनि बढ्दै गएको अस्पतालहरुले जनाएको छ । स्थानीय तह तथा सम्बन्धित निकायले अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन, न्यानो कपडा प्रयोग गर्न तथा आगो ताप्दा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन । मौसम अझै केही दिन यस्तै रहने अनुमान गरिएकोले नागरिकहरूलाई थप सजग रहन अनुरोध गरिएको छ ।

