रुपेन्द्र पटेल
रौतहट, २ पुस । रौतहटको वृन्दावन नगरपालिका–१ बलरीका एक सिङ्गो बस्ती भूमाफियाको चंगुलमा परेको छ । स्थानीयका अनुसार इन्द्रप्रसाद गौतमबाट २०५८ सालमा कानुनी रूपमा खरिद गरिएको दुई बिघा ८ कट्ठा जग्गामाथि पछिल्लो समय स्याङ्जा र रामेछापबाट आएका भूमाफियाहरूको गिद्दे नजर परेको हो ।
उक्त जग्गामा हाल १८ परिवारले घर बनाएर लामो समयदेखि बसोबास गर्दै आएका छन् । इन्द्रप्रसाद गौतमका तीन दाजुभाइको नामबाट विधिवत रूपमा स्थानीय बासिन्दाको नाममा नामसारी भइसकेको भए पनि २०६९ सालमा कृते लेनदेन देखाएर झुटा मुद्दा खडा गरी अदालतबाटै लिलाम गराउने षड्यन्त्र गरिएको पीडितहरूको आरोप छ ।
स्याङ्जाकी चुपा खनाललाई कृत्रिम रूपमा लेनदेनको धनी बनाइ नक्कली मुद्दा दर्ता गराइएको स्थानीय बासिन्दा रोशन पटेलले जानकारी दिनुभयो । फिल्ड बुकमा लगतकट्टा नभएको प्राविधिक कमजोरीलाई आधार बनाएर भूमाफियाहरूले अदालतमार्फतै जग्गा आफ्नो नाममा गराउन सफल भएको उहाँको भनाइ छ ।
त्यसैगरी अर्का स्थानीय देबेन्द्र पटेलले गौरका एक व्यक्तिलाई ऋणीको आफन्तका रूपमा प्रस्तुत गरी जिल्ला अदालत गौरको बिगो फाँटका केही कर्मचारीको मिलेमतोमा बस्ती हटाउने प्रयास भइरहेको आरोप लगाउनुभयो । चन्द्रनिगाहपुर मालपोत कार्यालयमा लेखापढी व्यवसाय गर्ने केही व्यक्तिहरू, जिल्ला अदालत गौरका कर्मचारी तथा बाहिरी जिल्लाबाट आएका भूमाफियाबीच साँठगाँठ भएको स्थानीयको गुनासो छ ।
हाल दुई बिघा ८ कट्ठा क्षेत्रफलमा फैलिएको उक्त बस्तीमा बसोबास गर्दै आएका १८ परिवार निरन्तर त्रास र अन्योलका बीच जीवन बिताउन बाध्य छन् । यस विषयमा जिल्ला अदालत गौरमा मुद्दा विचाराधीन अवस्थामा रहेको जानकारी दिइएको छ ।
रामेछाप र स्याङ्जाबाट आएका भूमाफियाहरू सक्रिय हुन थालेपछि सिङ्गो बस्ती नै असुरक्षित बनेको स्थानीयको भनाइ छ । स्थानीय बासिन्दा सुचिन्दर पटेलले अदालतकै केही कर्मचारीको मिलेमतोको आशंका भए पनि अन्ततः अदालतबाटै न्याय पाउने विश्वास आफूहरूमा रहेको बताउनुभयो । २०६९ सालमा कृते लेनदेनको मुद्दा खडा गरी जग्गा हडप्नेहरूलाई अदालतले कानुनी दायरामा ल्याएर कारबाही गर्नेमा स्थानीयहरू आशावादी रहेको उहाँले जानकारी दिनुभयो ।

