रुपेन्द्र पटेल
रौतहट, २९ मंसिर । रौतहट जिल्लामै ठूलो उद्योगका रूपमा कटहरिया नगरपालिका–९ डुमरियामा रहेको बाबा बैजुनाथ सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज सोमबारदेखि विधिवत रूपमा सञ्चालनमा आएको छ । मिल सञ्चालनको अवसरमा हिन्दू परम्परा अनुसार डोंगा पूजा सम्पन्न गरिएको हो ।
ब्राह्मणद्वारा मन्त्रोच्चारणसहित मिलका सञ्चालक बैजु प्रसाद बाबारा दम्पतीले डोंगा पूजा गर्नुभएको हो । उखु क्रसिङ अघि खरिद गरिएको उखु राखिने स्थानलाई मिलको भाषामा ‘डोंगा’ भनिने र पूर्ण विधि–विधानका साथ डोंगा पूजा गरेमा मिल वर्षभरि बिना अवरोध सञ्चालन हुने धार्मिक मान्यता रहेको छ ।
डोंगा पूजा सम्पन्न भएपछि सोमबार सबैभन्दा पहिले मिलमा उखु ल्याउने गढिमाई नगरपालिका–३ का किसान पिर श्याम बैठालाई मिल सञ्चालक बाबराले सम्मान गरेको थियो ।
चिनी मिल सञ्चालन समितिका अध्यक्ष समेत रहनुभएका बाबराले बाबा बैजुनाथ चिनी मिल अघिल्ला वर्षहरूमा घाटामा सञ्चालन हुँदै आए पनि यस सिजनमा १८ देखि २० लाख क्विन्टलसम्म उखु क्रसिङ गर्ने लक्ष्यका साथ मिल सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले गत वर्ष पनि करिब १९ लाख क्विन्टल उखु क्रसिङ गरी मिल बन्द गरिएको बताए ।
गत वर्ष क्रसिङ गरिएको उखुको सम्पूर्ण रकम किसानलाई भुक्तानी गरिसकिएको र नेपाल सरकारले उपलब्ध गराउँदै आएको अनुदानको रकमसमेत किसानलाई भुक्तानी भइसकेको सञ्चालक बाबराले जानकारी दिएका छ्न ।
यस सिजनमा उखु खेती गर्ने किसानको सुविधाका लागि मिलले मलखाद, बीउ तथा ऋण स्वरूप खेतीअनुसार केही रकम उपलब्ध गराउने योजना बनाएको उनले बताए । विगतमा समयमा भुक्तानी नपाउँदा उखु खेती छोडेका दर्जनौँ किसानहरू मिलले नियमित भुक्तानी दिन थालेपछि पुनः उखु खेतीतर्फ आकर्षित भएको उनको भनाइ छ ।
बाबराका अनुसार यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ तोकिएको छ भने सरकारबाट प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान प्राप्त हुने व्यवस्था रहेको छ ।
डोंगा पूजा सोमबार सम्पन्न भए पनि किसानको उखु क्रसिङ भने पुष १० गतेदेखि सुरु हुने बाबराले जानकारी दिएको छ । यश मिलमा सर्लाही र बाराका किसानहरुले पनि उखु बेच्दै आएको छ ।

