रौतहटमा चोक नामकरणलाई लिएर दुई गाउँबीच विवाद

राैतहट २९ मंसिर
रौतहट जिल्लाको गुजरा नगरपालिका–४ अन्तर्गत जङ्गलसहिया क्षेत्रमा चोकको नामकरणलाई लिएर दुई गाउँबीच विवाद उत्पन्न भएको छ। जङ्गलसहियाका युवाहरूले स्थानीय बजार क्षेत्रलाई “जङ्गलसहिया बजार” भनेर बोर्ड राखेपछि सो विषयलाई लिएर पोखरभिन्डा गाउँका युवाहरूले आपत्ति जनाएका छन् । यसअघि केही दिन अगाडि सोही स्थान नजिक “पोखरभिन्डा चोक” नाम लेखिएको बोर्ड राखिएको भन्दै जङ्गलसहियाका युवाहरूले विरोध जनाउँदै बोर्ड हटाएका थिए। दुवै पक्षबाट पटक–पटक नाम परिवर्तन र विरोध भइरहँदा अहिले यो विषय दुई गाउँबीचको विवादको रूपमा चर्किएको छ। स्थानीय बासिन्दाहरूका अनुसार चोक कुनै एक गाउँको मात्र नभई वरपरका सबै गाउँका मानिसहरूको साझा प्रयोगको स्थान भएकाले सानो विषयलाई लिएर आपसी मनमुटाव र झगडा गर्नु उपयुक्त नभएको बताएका छन्। उनीहरूले दुवै गाउँका नागरिकहरू नेपाली दाजुभाइ भएको स्मरण गराउँदै आपसी संवाद र छलफलमार्फत सहमतिमा पुग्न आग्रह गरेका छन् ।
स्थानीय बुद्धिजीवी तथा अगुवाहरूले पनि सम्बन्धित सबै पक्ष बसेर छलफल गरी सबैलाई स्वीकार्य समाधान खोज्नुपर्नेमा जोड दिएका छन्, ताकि आपसी सद्भाव कायम रहोस् र अनावश्यक विवाद अन्त्य होस् ।

ताजा समाचार

Related Articles