राैतहट २८ मंसिर
रौतहट क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका प्रत्याशी डा. फिरदोश आलमले रामपुर खापस्थित छोटी भन्सार नाका पुनः सञ्चालनको माग गर्दै स्थानीयवासीले थालेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउनुभएको छ। लामो समयदेखि बन्द रहेको नाकाका कारण सिमावर्ती क्षेत्रका बासिन्दाले भोग्दै आएको समस्याप्रति उहाँले गम्भीर चासो व्यक्त गर्नुभएको हो। डा. आलमका अनुसार भन्सार नाका बन्द हुँदा स्थानीय व्यापार, कृषि उत्पादनको ओसार–पसार र सर्वसाधारणको दैनिक आवत–जावतमा ठुलो अवरोध सिर्जना भएको छ। चारपाङ्ग्रे सवारी साधनको आवतजावत रोकिँदा जनजीवन कष्टकर बन्दै गएको र जनताको धैर्य सिमानामा पुगेको उहाँको भनाइ छ । उहाँले यो विषयलाई बेवास्ता गर्नु सिमावर्ती क्षेत्रका नागरिकलाई विकास, रोजगारी र अवसरबाट टाढा राख्नु सरह हुने उल्लेख गर्दै नेपाल सरकारसँग तत्काल पहल गर्न माग गर्नुभएको छ। छोटी भन्सार नाका तुरुन्त खोल्न, चारपाङ्ग्रे सवारी साधनको आवत–जावत पुनः सुचारु गर्न र समस्याको स्थायी समाधान खोज्न सरकार गम्भीर हुनुपर्ने उहाँको जोड छ।डा. आलमले सरकारलाई जनताको आवाज प्राथमिकतामा राखेर समयमै निर्णय लिन आग्रह गर्दै ढिलाइ भए परिणाम गम्भीर हुनसक्ने चेतावनीसमेत दिनुभएको छ। शान्तिपूर्ण रूपमा भइरहेको आन्दोलन जनअधिकार र जनजीवनसँग प्रत्यक्ष जोडिएको विषय भएको स्पष्ट पार्दै उहाँले स्थानीयवासीको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

