राैतहट २८ मंसिर
रौतहटको माधवनारायण नगरपालिकाले आगलगीबाट सर्वस्व गुमाएका एक परिवारलाई तत्काल राहत प्रदान गर्दै मानवीय जिम्मेवारी पूरा गरेको छ। नगर प्रमुख बैजनाथ प्रसाद यादवको नेतृत्वमा नगरपालिकाले पीडित परिवारलाई आवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराएको हो ।माधवनारायण नगरपालिका–६ माधोपुर निवासी भोजेन्द्र राय यादवको घर विद्युत सर्टका कारण गत शुक्रबार राति आगलगीमा परेपछि पूर्ण रूपमा जलेर नष्ट भएको थियो। आगोले घरसँगै अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, नगद तथा गरगहना समेत जलेर नष्ट हुँदा परिवार बेसहारा बनेको थियो। घरबार गुमेपछि पीडित परिवार खुला आकाशमुनि बस्न बाध्य बनेको थियो ।
घटनाको जानकारी पाएलगत्तै नगर प्रमुख यादवले तदारुकता देखाउँदै राहतको व्यवस्था गर्न निर्देशन दिनुभएको थियो। सोही अनुसार आज नगर प्रमुख स्वयं घटनास्थलमा पुगेर पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको छ।नगरपालिकाको तर्फबाट चामल दुई बोरा, दाल, नुन, खाने तेल, चिउरा लगायतका खाद्यान्न सामग्री प्रदान गरिएको छ। साथै खाना पकाउनका लागि ग्यास चुल्हो र ग्यास सिलिन्डर, भाँडाकुँडा तथा दैनिक प्रयोगका सामग्री समेत उपलब्ध गराइएको छ। चिसो मौसमलाई ध्यानमा राख्दै पीडित परिवारलाई कम्बल, ब्ल्याङ्केट, न्यानो कपडा तथा अस्थायी बसोबासका लागि त्रिपाल र टर्चलाइट पनि प्रदान गरिएको नगरपालिकाले जनाएको छ। राहत सामग्री हस्तान्तरण कार्यक्रममा नगर प्रमुख बैजनाथ प्रसाद यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादव तथा माधोपुर वडा अध्यक्ष राम नरेश रायको उपस्थिति रहेको थियो । नगर प्रमुख यादवले विपद्का बेला पीडित नागरिकलाई छिटोभन्दा छिटो राहत पुर्याउनु स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यक सहयोगका लागि नगरपालिकाले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

