रुपेन्द्र पटेल
रौतहट, २६ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार बिहान कार र ट्रक एकआपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते हुनुभएको छ । शुक्रबार करिब बिहान ८ बजे बागमती प्रदेश ३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार ओभरटेक गर्ने क्रममा आपसमा ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
दुर्घटनामा बाराको निजगढ–३ निवासी ७९ वर्षीय भक्त बहादुर खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पुष्टि गरेको छ । गम्भीर घाइते भएका खत्रीलाई उपचारका लागि सिभिल हस्पिटल चन्द्रनिगापुर लगिएको थियो । उपचारकै क्रममा चिकित्सकले उहाँलाई मृत घोषित गर्नुभएको थियो ।
सोही दुर्घटनामा कार चालक बाराको निजगढ निवासी अन्दाजी २७ वर्षीय दिनेश थपलिया र रौतहट चन्द्रपुर–६ निवासी २० वर्षीय डोरमणि सापकोटा घाइते घाइते हुनुभएको छ । घाइते दुवै जनाको टाउको र खुट्टामा चोट लागेको र उहाँहरुको सिभिल हस्पिटल चन्द्रनिगापुरमै उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले जानकारी दिनुभयो ।
दुर्घटनामा संलग्न ट्रक चालक, मकवानपुर हेटौडा उपमहानगर–७ निवासी ५३ वर्षीय श्यामबहादुर तितुडलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ ।

