सामुदायिक रेडियो प्रसारक संघ नेपाल मधेश प्रदेशको चौथो साधारण सभा सम्पन्न

राैतहट २२ मंसिर
सामुदायिक रेडियो प्रसारक संघ नेपाल, मधेश प्रदेशको चौथो साधारण सभा सोमबार मौलापुर पिकनिक पार्कमा सम्पन्न भयो । कार्यक्रममा विभिन्न वक्ताहरूले समुदायिक रेडियोको वर्तमान चुनौती, सुधारका आवश्यकता र राज्यको जिम्मेवारीबारे महत्वपूर्ण अभिव्यक्ति राखेका थिए  ।कार्यक्रमका मुख्य अतिथि पूर्वमन्त्री तथा आजपा अध्यक्ष प्रभु साहले आन्दोलनका कठिन परिस्थितिमा अग्रपंक्तिमा उभिने पत्रकारहरूप्रति सरकार जिम्मेवार नदेखिएको टिप्पणी गर्नुभयो । उहाँले सामुदायिक रेडियोहरू अहिले भोगिरहेको आर्थिक–प्राविधिक चुनौतीलाई सम्बोधन गर्न सरकार सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । यस्तै, विशिष्ट अतिथिका रूपमा उपस्थित आम सञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गाले पत्रकारको जीवन बीमा, दक्षता अभिवृद्धि तालिमलगायतका कार्यक्रम सञ्चालित रहेको जानकारी दिँदै पत्रकारले आचारसंहिता र पेसागत मर्यादा पालन गर्न आवश्यक रहेको बताउनुभयो । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कार्कीले रेडियोहरूले परम्परागत विधिभन्दा नयाँ प्रविधिको उपयोग गरी सामग्री उत्पादनमा आधुनिकता र गुणस्तर थप्नुपर्ने सुझाव दिनुभयो । देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले पत्रकारहरूलाई ‘अवाजविहीनहरूको आवाज’को रूपमा वर्णन गर्दै वास्तविकता, तथ्य र जनताको पीडालाई प्राथमिकता दिन आग्रह गर्नुभयो । पत्रकारितामा न्याय र निष्पक्षता सबैभन्दा महत्वपूर्ण पक्ष भएको उहाँको भनाइ थियो । सामुदायिक रेडियो प्रसारक संघ मधेश प्रदेशकी अध्यक्ष उपसना तिवारीले प्रदेशका अधिकांश रेडियो आर्थिक र प्राविधिक कठिनाइमा परेका कारण प्रभावित भइरहेको बताउँदै संघले रेडियोहरूको सुरक्षा, स्थायित्व र सुदृढीकरणमा निरन्तर काम गरिरहेको जानकारी दिनुभयो। प्रदेश सरकारले विज्ञापन तथा विविध कार्यक्रममार्फत समर्थन बढाइरहेको पनि उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा रेडियो रौतहटका चंचल झा र महोत्तरीका निरञ्जन साहले रेडियोले भोगिरहेका व्यावहारिक चुनौती, समस्या तथा सुधारका आवश्यकताबारे आफ्ना विचार राखेका थिए । साधारण सभाको सञ्चालन संघका सचिव प्रकाश मैनालीले गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles