राैतहट २२ मंसिर
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेश सरकारको प्रमुख एजेन्डा सुशासन, पारदर्शिता र प्रणालीगत सुधार हुने स्पष्ट संकेत गर्नुभएको छ। सोमबार नेपाली कांग्रेस रौतहटद्वारा गौरमा आयोजित स्वागत तथा अभिनन्दन कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले मधेश प्रदेशमा वर्षौंदेखि जरा गाडेर बसेका बेथितिहरूलाई अन्त्य गर्दै जिम्मेवार प्रशासनिक प्रणाली निर्माण गर्नु पहिलो प्राथमिकता हुने बताउनुभयो । उहाँका अनुसार मधेश प्रदेशमा चुनौतीहरूको लामो सूची छ, तर ती सबैलाई क्रमबद्ध ढङ्गले समाधान गर्दै विकास र जनविश्वास दुवै स्थापित गर्ने सरकारको मुख्य लक्ष्य छ। रोकिएका विकास आयोजना अघि बढाइने, नयाँ योजना तथा रणनीतिहरू जनतालाई प्रत्यक्ष अनुभूति हुने गरी कार्यान्वयनमा ल्याइने उहाँले बताउनुभयो ।
कृषि क्षेत्रलाई मधेशको मेरुदण्डका रूपमा प्रस्तुत गर्दै उहाँले किसानमैत्री नीति, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार विकासलाई समानरूपमा बलियो बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। “मधेशका नागरिकले परिवर्तन महशुस गर्ने गरि सरकार काम गर्छ,” मुख्यमन्त्री यादवको भनाइ थियो । यसबाहेक, सातदलीय गठबन्धन मजबुत रहेको र आगामी निर्वाचनसम्म एकताबद्ध रूपमा अघि बढ्ने विश्वास व्यक्त गर्दै उहाँले मन्त्रिपरिषद् विस्तार गठबन्धनकै सहमतिमा चाँडै टुंग्याइने जानकारी दिनुभयो ।

