रौतहट २२ मंसिर
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले सोमबार आफ्नो गृह जिल्ला रौतहटका विभिन्न शक्तिपीठमा पूजा–आजा गर्नु भएको छ । नेपाली काँग्रेस मधेश प्रदेश सभापति समेत रहेका मुख्यमन्त्री यादवले मत्सरी स्थित दुर्गा भगवती शक्तिपीठ र राजदेवी नगरपालिकाको राजदेवी मन्दिरमा पूजा गरी आशिष लिएका हुन् । पूजा पश्चात् मुख्यमन्त्री यादवले क्षेत्रवासीहरूसँग भेटघाट गर्दै खुशीयाली साटासाट गर्नुभएको छ । उनले जनतासँग गरेका सबै वाचा पूरा गर्ने विश्वास दिलाएको नेपाली कांग्रेस मधेस प्रदेशका प्रचार विभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिनु भएको छ । गुप्ताका अनुसार मुख्यमन्त्री यादव जिल्ला तथा क्षेत्रका व्यापक जनतासँग भेटघाट कार्यक्रम निरन्तर रूपमा चलाउँदै हुनुहुन्छ । यसैबीच, मुख्यमन्त्री यादवले सोमबार गौरस्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा कार्यकर्ता तथा पत्रकारहरूसँग सामान्य भेटघाट कार्यक्रम रहेको गुप्ताले जानकारी दिनुभयो । त्यसपछि यादव कटहरियामा आयोजित भेलालाई सम्बोधन गरी सोमबार साँझ नै काठमाडौं फर्कने कार्यक्रम रहेको पनि गुप्ताले तराई पोष्टलाई बताउनु भयो ।

