रौतहटमा नेपालकै पहिलो आधुनिक जैविक डिएपी तथा हाइब्रिड मल उद्योग निर्माण सुरु

रौतहट २२ मंसिर
रौतहटको फतुवा विजयरपुर–११, हिमालिवासमा नेपालकै पहिलो आधुनिक जैविक डिएपि तथा हाइब्रिड मल उत्पादन गर्ने उद्योग निर्माण कार्य सुरु भएको छ । एम.आर. फर्टिलाइजर्स प्रा.लि.द्वारा स्थापित हुन लागेको सो उद्योगको शिलान्यास नार्कका कृषि विशेषज्ञ डा. सुशीलराज सुवेदीले विशेष समारोह बीच गरेका हुन् । उद्योगका सञ्चालक तथा मेयर–प्रत्यासी अजय तिमल्सिनाका अनुसार उद्योगले जैविक डिएपि, हाइब्रिड मल, एनपिके, पोटास, जिन्क र जैविक विषादीसम्म उत्पादन गर्नेछ । उनले आउँदो कृषि सिजनलाई लक्षित गरेर निर्माण तीव्र गतिमा भइरहेको र यस्तो प्रकृतिको उद्योग नेपालमै पहिलो हुने दाबी गरेका छन् । करीब १६ करोड रुपैयाँको लगानीमा निर्माण भइरहेको यस उद्योगबाट विशेषगरी तराई क्षेत्रमा वर्षौंदेखि देखिएको मल अभावको समस्यालाई समाधान गर्ने अपेक्षा गरिएको छ । तस्करीबाट भित्रिने महंगा रासायनिक मलको विकल्प तयार गर्दै देशलाई मल उत्पादनमा आत्मनिर्भर बनाउने उद्योगको लक्ष्य छ । उद्योगमा आवश्यक सामग्रीमध्ये ६ प्रकारका कच्चा पदार्थ नेपालमै संकलन गरिनेछ जबकि २ प्रकारका कच्चा पदार्थ भारत वा अन्य मुलुकबाट आयात गरिने बताइएको छ । एम.आर. फर्टिलाइजर्सले करिब २५ गाउँबाट दैनिक ५ हजार लिटर मानव पिसाब संकलन गर्नेछ, जसलाई जैविक मल उत्पादनमा उपयोग गरिनेछ । यो मोडेल ग्रामीण फोहोर व्यवस्थापन र जैविक मल उत्पादनका लागि नवीन र प्रभावकारी कदमका रूपमा हेरिएको छ । उद्योग सञ्चालनमा आएपछि १५० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउनेछन् । वातावरणमैत्री उत्पादन मोडेलले दीगो कृषि प्रणाली निर्माणमा योगदान गर्ने दाबी गरिएको छ । विगत वर्षहरूमा मल अभाव र भारत निर्भरता कारण किसान समस्यामा परेका बेला रौतहटमा सुरु भएको यो उद्योग दीर्घकालीन राहत बन्न सक्ने कृषि विज्ञाहरूको मूल्यांकन छ । तर, कच्चा पदार्थ आपूर्ति, गुणस्तर व्यवस्थापन र सरकारी नियमनजस्ता चुनौतीहरू प्रभावकारी रूपमा सम्बोधन गर्नुपर्ने सुझाव विशेषज्ञहरूले दिएका छन् ।

ताजा समाचार

Related Articles