रौतहट, २१ मंसिर
चन्द्रपुर नगरपालिका–४ दुर्गा माध्यमिक विद्यालय अगाडि बेवारिसे अवस्थामा भेटिएकी एक महिलालाई उद्धार गरी मानव सेवा आश्रम हरिवन, सर्लाहीमा सुरक्षितरूपमा पठाइएको छ।
दुर्गा माविका प्रधानाध्यापक नारायण कार्कीको पहल र सहयोगमा उक्त महिलाको उद्धार कार्य सम्पन्न गरिएको हो। विद्यालय परिसर नजिकै मानसिक रूपमा अस्थिर देखिएकी ती महिलालाई सुरक्षित स्थानमा राख्न विद्यालय प्रशासनले स्थानीय अभियन्ता तथा सुरक्षाकर्मीको समन्वय गरेको थियो।
समाजसेवामा सक्रिय मानव सेवा आश्रमको टोलीले महिला उद्धार गरिएलगत्तै उनलाई आवश्यक उपचार, संरक्षण तथा पुनःस्थापनाका लागि आश्रममा लगेकाे चन्द्रपुर–४का स्थानीयले बताए । प्रधानाध्यापक कार्कीले समाजिक उत्तरदायित्वअनुसार विद्यालयले यस्तो मानवीय कार्यमा सधैं सक्रिय रहनुपर्ने बताएका छन्। उनले सहयोगका लागि विद्यालय परिवार र स्थानीयवासीप्रति आभार व्यक्त गरे । सुरक्षित उद्धारसँगै ती महिलाको स्वास्थ्य अवस्था, पहिचान तथा परिवारसम्बन्धी थप जानकारी संकलनका लागि आश्रमले आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।

