रौतहट १६ मंसिर
रौतहटमा मंगलबार सवारी दुर्घटना हुदा ७ जना घाइते भएको छ । रौतहटको गौर—चन्द्रनिगाहपुर सडकखण्डको यमुनामाई गाउपालिकाको वडा नम्बर ४ मा ३ सवारी साधन ठोकिदा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सो दुर्घटनामा स्थानीय विजय साहको होटल समेत क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सो गाउपालिकाको बडहर्वातर्फबाट तीव्र गतिमा आउँदै गरेको एचआर–२८–डी–७२२२ नम्बरको स्कार्पियोले चपुरबाट गौरतर्फ जाँदै गरेको विआर–०७–पिए–७५८४ स्कार्पियोलाई ठक्कर दिएको थियो । सोही समयमा सडक किनारामा रोकी राखिएको ना.२ ह–६५२५ अटोलाई समेत उक्त स्कार्पियोले ठक्कर दिएको प्रहरी प्रवक्ता डिएसपी बिष्णु प्रदीप बस्यालले तराइ पोष्टलाई जानकारी दिनु भयो ।
दुर्घटनामा परी घाइते हुनेहरुमा बारा आदर्श कोतवाल–७ निवासी ३० वर्षीय पवन यादव (टाउको र दुवै खुट्टामा चोट), सर्लाही बरहथवा–१४ निवासी ११ वर्षीय अंकित महतो (अनुहारमा चोट), गौर–२ निवासी २४ वर्षीय सुरेन्द्र कुमार साह (दायाँ खुट्टामा चोट), राजदेवी–८ निवासी ५० वर्षीय शिवजी साह (ढाडमा चोट), यमुनामाई–५ निवासी ३९ वर्षीय मंगल पटेल (शरीरमा चोट), र राजपुर–३ निवासी १० वर्षीय तारिक वस्ता (बायाँ खुट्टामा चोट) रहेको छ । प्रहरीका अनुसार सबैको अवस्था मध्यमदेखि सामान्य रहेको छ ।
घटनास्थलमा तत्काल प्रहरी टोली खटिएको थियो र तीनै सवारी नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी बिष्णु प्रदीप बस्यालले जानकारी दिनुभयो । घाइतेहरूको उपचार प्रादेशिक अस्पताल गौरमा भइरहेको र उहाँहरूको अवस्था खतरामुक्त रहेको डिएसपी बस्यालले बताउनु भयो । प्रहरीका प्रारम्भिक अनुमान अनुसार तीव्र गति र लेन अनुशासन नमान्नु दुर्घटनाको मुख्य कारण रहेको देखिएको छ । दुर्घटनापछि केहीबेर अवरुद्ध भएको सडक अहिले सुचारु भएको प्रहरीले जनाएको छ ।

