रौतहट क्षेत्र नं–४ मा एमाले प्रतिनिधि छनौटका लागि आज मतदान हुँदै

रुपेन्द्र पटेल
रौतहट, १३ मंसिर । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौट प्रक्रियाअन्तर्गत रौतहट क्षेत्र नम्बर ४ मा आज मतदान हुँदैछ । जिल्लाका चार क्षेत्रमध्ये तीनवटामा सर्वसम्मत प्रतिनिधि चयन भइसकेको भए पनि क्षेत्र नम्बर ४ मा सहमति हुन नसकेपछि मतदानको आवश्यकता परेको एमाले रौतहटका सचिव बाबुराम दाहालले जानकारी दिनुभयो ।
निर्वाचन समितिका संयोजक किशोर उपाध्यायका अनुसार आज बिहान १० बजेदेखि साँझ ४ बजेसम्म मतदान हुनेछ । उहाँले मतदाताहरूलाई नेपाल सरकारद्वारा जारी कुनै एक परिचयपत्र अनिवार्य साथमा ल्याउन आग्रह गर्दै दर्ता गराएको अन्तिम नामावलीअनुसार सबै तयारी पूरा गरिएको बताउनुभयो ।
महिला क्लस्टरमा मुन्ना सुवेदी, शकुन्तला कुमारी, रिता कार्की र सीता राणा मगरको नाम दर्ता भएको छ । महिलातर्फ प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारहरूले आफ्ना अनुभव, भूमिकाहरू र संगठनमा पुर्‍याएको योगदानका आधारमा मत माग्दै टोल–टोलमा सक्रिय रूपमा प्रचार गरिरहेको स्थानीय नेताहरूले बताउनुभएको छ ।
खुला समूहमा आठ उम्मेदवार दर्ता भएका छन् । तीमध्ये अशोक पहाडी, शिवप्रसाद आचार्य र खड्कबहादुर बम्जनबीच त्रिपक्षीय प्रतिस्पर्धा तीव्र बनेको एमाले कार्यकर्ताले बताउनुभएको छ । खुला समूहका अन्य उम्मेदवार—एन पोखरेल, रामजी साह, वैद्यनाथ सहनी, सुरेश यादव र टंकेश्वर चौधरीले पनि आफ्ना पक्षमा वातावरण बनाउन विभिन्न बस्ती र टोलमा सक्रियता बढाएको बुझिएको छ । स्थानीय स्रोतहरूका अनुसार खुला क्लस्टरमा अशोक पहाडीको पकड बलियो मानिए पनि अन्तिम चरणमा प्रतिस्पर्धा झन् चर्किएको छ ।
युवा क्लस्टरमा रवि राणा मगर र शम्भु खड्काबीच प्रतिस्पर्धा रहेको छ । दुवैले संगठनमा युवाको भूमिका, नेतृत्व क्षमता र आगामी योजनाहरू प्रस्तुत गर्दै मतदातामाझ प्रभाव बढाउने अभियान सुदृढ पारेको जानकारी प्राप्त भएको छ।
आज क्षेत्र नं. ४ मा हुन लागेको मतदानबाट खुला समूहबाट दुई, महिला समूहबाट दुई र युवा समूहबाट एक गरी पाँच प्रतिनिधि चयन हुनेछ । सहमति जुटाउन धेरै प्रयास भए पनि अन्ततः सहमति नजुटेको एमाले जिल्ला सचिव दाहालले बताउनुभयो । मतदान शान्तिपूर्ण, व्यवस्थित र निष्पक्ष रूपमा सम्पन्न गर्न सबै तयारी पूरा गरिएको निर्वाचन समितिले जनाएको छ । मतगणना सकिएपछि चयन भएका प्रतिनिधिहरू आगामी महाधिवेशनमा रौतहटको तर्फबाट सहभागिता जनाउनुहुनेछ ।

ताजा समाचार

Related Articles