रौतहट ११ मंसिर
रौतहटको फतुवा विजयपुर नगरपालिकामा तालाबन्दीका कारण १६ दिनदेखि सम्पुर्ण कामकाज ठप्प भएको छ । सो नगरपालिकाका करार कर्मचारीहरुले कार्तिक २६ गते देखि नगरपालिकामा तालाबन्दी गरेपछि अहिले नगरपालिकाको सम्पुर्ण सेवा पूर्ण रूपमा ठप्प बनेको छ । करार कर्मचारीहरुले सेवा अवधि थप नगरेको विरोधमा उनीहरुले नगरपालिका लगायत नगरका ११ वटै वडा कार्यालयमा तालाबन्दी गरी दैनिक कार्यालय समयमा धर्ना दिदै आएको छन । नगरपालिकामा तालाबन्दीले सेवाग्राहीहरुले दर्तादेखि प्रमाणीकरण, प्रशासनिक फाइल प्रक्रिया र वडा स्तरीय काम समेत अवरुद्ध बनेको स्थानीयवासीले तराई पोष्टलाई जानकारी दिनु भयो । आन्दोलनरत कर्मचार सुबोध यादवले नगरपालिकाबाट लिखित प्रतिबद्धता नभएसम्म नगरपालिकाको तालाबन्दी नखुल्ने बताउनु भयो । फतुवा–बिजयपुर नगरपालिकामा ८७ जना करार कर्मचारी कार्यरत रहेको समेत यादवले बताउनु भयो । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण करार अवधि विस्तार लगायतका आवश्यक प्रशासनिक कार्य अघि बढ्न नसकेको कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले जानकारी दिनु भयो । नगर प्रमुख खातुनले करार कर्मचारीहरुलाई आफ्नो हटाउने उदेश्य नभएको सबै प्रशासकिय कार्यहरु अगाडी बढाउन प्रमुख प्रशासकिय अधिकृतको अभाव रहेको बताउनु भयो । गत दुई साता अघि प्रमुख प्रशासकीय अधिकृत भारत यादवको सरुवा भएपछि बुधवारदेखि सिम्रौनगढ नगरपालिकाका दसौँ तहका मदन कुमार थापा निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा तोकिएको र शुक्रबारदेखि कार्यभार ग्रहण गर्ने सम्भावना रहेको खातुनको भनाई रहेको छ । प्रमुख प्रशासकिय अधिकृतको हाजिर भएपछि नगर कार्यपालिका बोर्डमा सबै ८७ करार कर्मचारीको सेवा अवधि थप्ने प्रस्ताव लैजाने र कानुन अनुसार रहनेहरूको म्याद वृद्धि गरिने पनि कार्यवाहक प्रमुख खातुनले बताउनु भयो ।

