बारा ११ मंसिर
बारामा लागुऔषधसहित एक जना पक्राउ परेको छ । भारतबाट नेपालतर्फ लागुऔषध लुकाइ छिपाइ ल्याउँदै गरेको अवस्थामा एक जना भारतीय नागरिकलाई बारा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहर िकार्यालय बाराले जनाएको छ । पक्राउ पर्नेमा भारत, बिहार राज्यको पूर्वी चम्पारण नायक टोल बस्ने बर्ष ३५ का लालबाबु साह रहेको प्रहरीले जनाएको छ । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियामा भारत तर्फबाट नेपाल प्रवेश गर्दै गरेको बि आर ०५ ए न ३५३२ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको टोलीले रोकेर जाँच गरेको थियो । प्रहरी टोलीले मोटरसाइकलको पछाडि दुध बोकेर ल्याउने फलामको साँचो मुनि लुकाइएको सामग्री जाँच गर्ने क्रममा जुटको बोरामा १९ वटा प्याकेट फेला पारेको प्रहरीले जनाएको छ । ती सबै प्याकेटमा सेतो प्लाष्टिकभित्र कोकिन २१ ग्राम ६५० मिलिग्राम भेटिएको छ । प्रहरीले साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

