रौतहट ११ मंसिर
रौतहटको राजपुर नगरपालिकामा विहिबारबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । विहिबार अभियान अन्तर्गत वडा स्तरदेखि नगरपालिका तहसम्म सचेतना जगाउने उद्देश्यसहित किशोरी पदयात्रा (र्याली) को आयोजना गरिएको थियो । पदयात्रामा सहभागी किशोरीहरूले “लैङ्गिक हिंसा अन्त्य गरौँ”, “महिला सम्मान : सभ्य समाजको पहिचान” लगायतका नारासहित नगर क्षेत्र परिक्रमा गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी बलका उपरीक्षक, राजपुर नगरपालिकाका नगर प्रमुख राजीक आलम निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर नगरपालिका कर्मचारी, जनप्रतिनिधि तथा सुरक्षाकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । नगर प्रमुखले अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्ने विश्वास व्यक्त गर्दै महिलामाथि हुने हिंसा अन्त्यका लागि सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो । यसैगरी, सुरक्षा निकायका प्रमुखहरूले हिंसा विरुद्ध उजुरी तथा पीडितको सुरक्षामा पूर्ण सक्रियता रहने प्रतिवद्धता जनाएका थिए । अभियान १६ दिनसम्म विभिन्न सचेतनामूलक कार्यक्रम, छलफल, अन्तरक्रिया एवं स्कुल–समुदाय स्तरमा जनचेतना कार्यक्रममार्फत निरन्तर संचालन गरिने राजपुर नगरपालिकाले जनाएको छ ।

