रुपेन्द्र पटेल
रौतहट, १० मंसिर
रौतहटमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । रौतहटको फतुवा–विजयपुर नगरपालिका–६ रामदासी टोलमा माइकको तार जडान गर्ने क्रममा करेन्ट लागेर गणेश महतोको मृत्यु भएको हो । मंगलबार राति गम्भीर रूपमा घाइते भएका २२ वर्षीय गणेश महतोको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । मंगलबार राती करिब पौने १० बजेको समयमा महतो आफ्नै घरमा माइकको तार जोड्दै गर्दा अचानक विद्युत् सर्किटको प्रवाहमा परी गम्भीर घाइते महतोलाई स्थानीयले तत्कालै नेशनल हस्पिटल विजयपुर लगेर उपचार गराएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिनु भयो । अवस्था जटिल हुँदै गएपछि उहाँलाई रातिको समयमा नै कोल्हवी, बारातर्फ रेफर गरिएको थियो । तर कोल्हवी लैजाने क्रममा बाटोमै उहाँको ज्यान गएको र राति करिब १२ अस्पतालले यसबारे प्रहरीलाई जानकारी गराएको सूचना अधिकारी बस्यालले बताउनुभयो । मृतकको शव हाल पोष्टमार्टमका लागि प्रदेशिक अस्पताल कलैया, बारामा राखिएको छ ।

