रौतहटमा सशस्त्र प्रहरीद्धारा चार महिनामा २ करोड १८ लाखभन्दा बढीको अवैध सामान बरामद

रौतहट, ५ मंसिर । भारतसँग जोडिएको दक्षिणी सीमाक्षेत्रमा तस्करी रोकथाम अभियान तीव्र बनाएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ११ हेक्वा रौतहट तथा मातहतका बोर्डर आउट–पोस्ट र अस्थायी बेस क्याम्पले चार महिनामा झण्डै २ करोड १८ लाख ४ हजार २७ रुपैयाँबराबरको भन्सार छलीका अवैध सामग्री बरामद गर्न सफल भएको छ ।
गत साउनदेखि कार्तिक मसान्तसम्म सञ्चालन गरिएको नियमित गस्ती, विशेष अनुगमन तथा सूचनामूलक अपरेसनका कारण तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता मिलेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रामहरी अधिकारीले पनि उक्त अवधिमा तस्करी नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल गरिएको बताए ।
बरामद सामानहरूमा किराना, कस्मेटिक, लत्ता–कपडा, मोटर पाट्र्स, सालको काठ, मदिरा, भारतीय माछा, ब्रायलर कुखुरा, सेतो अण्डा र पटका जस्ता सामग्री उच्च मात्रामा फेला पारिएको एसपी अधिकारीले प्रहरीले जानकारी दिए ।
यसबाहेक स्रोत नखुलेको ७ लाख २ हजार ४०० रुपैयाँ समेत बरामद गरिएको अधिकारीले बताए ।
सामान ढुवानीमा प्रयोग भएका सवारीसाधनसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । तथ्यांकअनुसार टिपर १, ट्र्याक्टर २, जेसीबी १, पिकअप २, म्याजिक १, अटो १, कार १, स्कारपियो १, मोटरसाइकल ४८ र साइकल २ गरी ५६ वटा सवारीसाधन जफत गरिएको
सशस्त्र प्रहरी रौतहटका प्रवक्ता डीएसपी दीपेन्द्र थापाले जानकारी दिए ।
सीमाक्षेत्रमा तस्करी दैनिक रूपमा हुने भएकाले प्रहरी बल निरन्तर सतर्कतापूर्वक परिचालन गरिएको प्रवक्ता थापाले बताए । “सूचनाका आधारमा चलाइएको अपरेसनले राम्रो परिणाम दिएको छ । आगामी दिनमा निगरानी अझ कडाइका साथ अघि बढाइनेछ,” उनले भने ।
सुरक्षाहरुका अनुसार पछिल्लो समय सीमाक्षेत्रमा सशस्त्र प्रहरीको सक्रियता बढेसँगै तस्करीमा संलग्न समूहहरू दबाबमा परेको देखिएको छ ।

ताजा समाचार

Related Articles