रौतहट ५ मंसिर । रौतहटको कटहरिया नगरपालिका–१ का नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य सतलाल दास पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रबार अपरान्ह ४ः३० बजे गौरबाट दासलाई पक्राउ गरेको एसपी रबिन कार्कीले पुष्टि गरेका छन् ।
उपभोक्ता समितिको सचिव बनाइ आफ्नै वडाकी विवाहित दलित महिलालाई ललाइ–फकाइ प्रेम जालमा पारेर भगाएको आरोप दासमाथि लागेको छ । चार छोराछोरीका पिता दासले तीन सन्तानकी आमासँग ‘सम्बन्ध’ बढाउँदै घरदेखि पैसा, सुनचाँदी र जग्गा सम्म हिनामिने गरेको पीडित परिवारको आरोप छ ।
घटनापछि सामाजिक सञ्जालदेखि स्थानीय राजनीतिक वृत्तसम्म तातेको माहोललाई लिएर जातीय संगठन ‘राष्ट्रिय तत्मा समाज’ समेत सक्रिय बनेको छ । समाजका पूर्व अध्यक्ष राजकुमार दास, महासचिव शंकर दास तत्मा, सल्लाहकार मदन दासलगायतको टोली बिहीबार पीडित परिवार, स्थानीय अगुवासँग निरन्तर छलफलमा जुटेको थियो ।
पीडित महिलाका बुबाका अनुसार, २०७२ सालमा विवाह भएकी छोरीलाई वडा सदस्य दासले उपभोक्ता समितिको सचिव बनाएपछि दुवैबीच ‘आवतजावत’ बढ्दै गएको थियो । विदेशमा रहेका छोरीका श्रीमान कृष्णनन्दन दासले पठाइएका करिब १२ लाख रुपैयाँ, करिब ३ लाख बराबरका सुनचाँदीको गहना समेत वडा सदस्यले लिएका छन् ।
छोरीको नाउँमा रहेको पाँच कठ्ठा जग्गा समेत दासले धरौटी राखेर पैसा निकालेको महिलाको बुबाले खुलासा गरेका छन् ।
परिवारका अनुसार महिलाले पछिल्ला महिनामा तीन साना छोरालाई घरमै छोडेर बाराको निजगढमा दाससँगै भाडाको कोठामा बस्दै आएकी थिइन् । समुदायको खोजबिनपछि दुवै एकै कोठाबाट भेटिए पछि बारा प्रहरीले ईलाका प्रहरी कार्यालय गरुडामा बुझाएको थियो ।
सोहिदिन कटहरियाका मेयर अजय प्रकाश जैसवालको पहलमा दुवैजना लाई जिम्मा जमानीमा छोडिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएस्पी विष्णु प्रदीप बस्यालले विदेशबाट पठाएको रकम, गहना र जग्गासम्बन्धी प्रमाण पेश भएमा दासविरुद्ध कानुनी कारबाही र क्षतिपूर्ति अनिवार्य हुने चेतावनी दिएका छन् ।
उता महिलाले आफू घरमा शारीरिक–मानसिक हिंसा सहन बाध्य भएकाले ‘सुरक्षाका कारण’ घर छाडेको बताइरहेकी छन्। मेयर अजय प्रकाश जैसवालले सबै आरोप अस्वीकार गरेका छन् ।
यस घटनाले एकैपटक सात बालबालिकाको भविष्य अनिश्चित बनाएको मात्र होइन, विदेश रोजगारीमा रहेका युवाहरूले कसको खातामा पैसा पठाउने भन्ने विषयमा पुनः गम्भीर बहस उठाइदिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ परेका वडा सदस्य दासलाई नियन्त्रणमा लिएर घटना बारे आवशयक अनुसन्धान भईरहेको जनाएको छ ।
दास पक्राउ पर्नु अघि राष्ट्रिय तत्मा समाजका अध्यक्ष रामबाबु दासको नेतृत्वमा शुक्रवार जिल्ला प्रशासन कार्यालय गौर अगाडी दोषीमाथि कारबाहीको माग गर्दै केही बेर प्रदर्शन गरेका थिए ।

