रुपेन्द्र पटेल
रौतहट, ५ मंसिर । रौतहटको कटहरिया नगरपालिका–१ भसेढवामा वडा सदस्य सतलाल दासविरुद्ध गरिएको कारबाहीको माग सुनुवाइ नहुँदा स्थानीयबासीले शुक्रबार जिल्ला प्रशासन कार्यालय गौरमा विरोध प्रदर्शन गरेका छन्। सतलाल दास र सुष्मिता कुमारीसँग सम्बन्धित विवादमा छलफल गर्न बोलाइएका प्रतिनिधिहरूका कुरा प्रशासनले उपेक्षा गरेको आरोप लगाउँदै राष्ट्रिय तत्मा समाज नेपाल, स्थानीय भद्रभलाद्मी, महिला अगुवा, बुद्धिजीवी तथा समाजसेवीहरू सडकमा उत्रिएका हुन्। पीडित घुनिया देवी तथा उनका तीन छोरालाई न्याय दिलाउन भन्दै उनीहरूले प्रशासन कार्यालय अगाडि नाराबाजी गरेका थिए।
नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य दासले गाउँकी विवाहित महिलालाई प्रेमजालमा पारी भगाएको आरोप लगाइएको छ। ती महिलाका श्रीमान वैदेशिक रोजगारीका लागि हाल मलेसियामा कार्यरत छन्। परिवारका अनुसार दासले महिलाका श्रीमानले कमाएको करिब १२ लाख रुपैयाँ र घरमा रहेको गरगहना समेत लिएर गएको दाबी गरेका छन्। सासु घुनियादेवी ततमाका अनुसार दासले महिलाको नाममा रहेको पाँच कठ्ठा जग्गा समेत बैंकमा धितो राखेर रकम निकाली व्यक्तिगत खर्चमा प्रयोग गरेका छन्।
स्थानीयको भनाइअनुसार दासले सुरुमा ती महिलालाई उपभोक्ता समितिमा राखे, त्यसपछि बैंकमा खाता खोल्नुपर्छ भन्दै विभिन्न बहानामा मोटरसाइकलमै घुमाई प्रेम सम्बन्धमा फसाएका हुन्। यतिबेला दास र ती महिलाको चुम्बन दृश्यसमेत सामाजिक सञ्जालमा भाइरल बनेको छ, जसले घटनालाई झन् चर्चामा ल्याएको छ। दासका आफ्नै दुई छोरा र दुई छोरी रहेका छन्, तर तीन सन्तानकी आमालाई भगाएको घटनाले स्थानीय समाज आक्रोशित भएको छ।
उता, घटना सार्वजनिक भएपछि गौर, गरुडा र कटहरियाका केही पत्रकारहरूबीच पनि फरक–फरक धार देखिएको छ। कोही पत्रकारले दासको पक्षमा अन्तर्वार्ता लिएर सामाजिक सञ्जालमा पोस्ट गरी कमाइको माध्यम बनाएको आरोप छ भने कोहीले कडा कारबाहीको माग गर्दै फेसबुक अभियान चलाइरहेका छन्।
राष्ट्रिय तत्मा समाजले पटक–पटक आग्रह गर्दा पनि प्रहरी प्रशासनले दासलाई जोगाएको दाबी गर्दै तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरिएको छ। स्थानीयहरूका अनुसार प्रशासनको उदासीनताले नै आफूहरूलाई सडकमा उत्रिन बाध्य बनाएको हो। यता महिलाकी सासु घुनियादेवीले कटहरिया नगरपालिकाका नगरप्रमुख अजय प्रकाश जयसवालले नै वडा सदस्यलाई बचाउमा उत्रिएको आरोप समेत लगाइरहेकी छिन् भने नगर प्रमुख जयसवलले आफू निष्पक्ष छानबिनको पक्षमा रहेको बताउदै आएका छ्न ।

