पर्सा ४ मंसिर
पर्साको वीरगन्जबाट प्रहरीले चोरीका सुनचँदीका गरगहना सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरीका करिब ३७ लाख रुपैयाँ मूल्य बराबरको सुन–चाँदीका गहनासहित तीन भारतीय र एक नेपालीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ पर्नेहरुमा भारतको बिहार राज्यको बेतिया जिल्ला बल्थर थानाको सरकिला गाउँका ३३ वर्षीय विजय राय, त्यहि ठाउँका ६० वर्षीय शेख बुनाद, बिहारको बेतियाको आरापिपरा बस्ने ३१ वर्षीय विनोद राउत र पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ टेढाँका २० वर्षीय विद्या कुमार नट रहेका छन् । गत कात्तिक ३० गते वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ मा प्रहरीले शंका लागेर लु.९६ प ३७३३ नम्बरको स्कुटीलाई रोकेर त्यसमा सवार भारतको बिहार राज्यको बेतिया जिल्लाको बल्थर थाना सरकिला बस्ने ६० वर्षीय शेख बुनादको शरीर खानतलासी गरेको थियो । शेखले दिएको बयानका आधारमा प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ टेढाका नटको घरमा खानतलासी गर्दा घरभित्र लुकाएर राखिएका ३६ लाख ७० हजार ५१ रुपैयाँ मूल्य बराबरको सुनचाँदीका गहनाहरु भेटिएको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनु भयो । नटको घरबाट सुनको सिक्री ११ थान, सुनको झुम्का २ थान,सुनको नथिया ३ थान,सुनको पोतेसहितको माला २ थान,सुनको लकेट १ थान,सुनको औंठी १ थान, सुनको मांगटीका २ थान,चाँदीको पाउजु १० थान,चाँदीका सिक्का २ थान,सुनको बिछिया ८ थान,चाँदीको हाथशंकर २ थान तथा सुनचाँदी तौल गर्ने तराजु १ थान बरामद भएको बस्नेतले जानकारी दिनु भएको छ । यससंगै नगद नेपाली ३ लाख ७९ हजार रुपैयाँ र भारतीय ९ हजार २०० रुपैयाँपनि बरामद गरिएको उहाले बताउनु भयो । पक्राउ गरिएका चारैजनाविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको बस्नेतले बताउनु भयो ।

