रौतहटमा बाली स्वास्थ्य उपचार शिविर सम्पन्न

रौतहट,२६ कार्तिक । चन्द्रपुर नगरपालिका–९ चेतनगरमा बाली स्वास्थ्य उपचार शिविर सम्पन्न भएको छ।
अक्सफाम नेपालको आर्थिक सहयोग तथा ग्रामीण विकास केन्द्र नेपालको समन्वयमा सञ्चालित “जलवायु जोखिम तथा संकटासन्नताको लागि सामुदायिक उत्थानशील परियोजना” अन्तर्गत बाली संरक्षण प्रयोगशाला सिरहाको प्राविधिक सहकार्यमा उक्त शिविर मंगलबार सम्पन्न भएको हो।

शिविरमा चन्द्रपुर नगरपालिकाभित्र रहेका दुईवटा जलवायु कृषक पाठशालाका कृषकहरूलाई बालीमा देखापर्ने रोग र किराबाट हुने क्षतिलाई नियन्त्रण गर्ने उपायहरूबारे व्यवहारिक ज्ञान प्रदान गरिएको थियो। कार्यक्रममा कृषकहरूले खेतबारीमा हुने रोग र किराको विभिन्न अवस्थाहरूको अवलोकन गरी मित्रजीवहरूको संरक्षण र शत्रु किराको जैविक नियन्त्रणका उपायबारे विस्तृत रूपमा जानकारी प्राप्त गरेका थिए।

प्राविधिक विज्ञहरूले रासायनिक विषादी मात्र नभई जैविक विषादी पनि रोग र किरा नियन्त्रणमा उत्तिकै प्रभावकारी हुने बताउँदै श्रव्य–दृश्य माध्यमबाट कृषकहरूलाई सचेत पारेका थिए। साथै, मौसमी परिवर्तन र वरिपरिका वातावरणीय कारणहरूले पनि रोग–किरा फैलिनमा महत्वपूर्ण भूमिका खेल्ने विषयमा सहभागीहरूलाई प्रष्ट पारिएको थियो।

शिविरमा विषादी प्रयोग गर्दा सुरक्षित अभ्यासहरू — जस्तै मास्क, फुल सर्ट वा गम्छाले मुख छोप्ने — अपनाउनुपर्ने र हरियो ट्याग भएको विषादीबाट सुरु गरी अन्तिम विकल्पको रूपमा मात्र रातो ट्याग विषादी प्रयोग गर्न सुझाइएको थियो।

उक्त एकदिने बाली स्वास्थ्य उपचार शिविरमा करिब १०० जना कृषक सहभागी भएका थिए। उनीहरूले यस कार्यक्रमले आफूहरूको प्राविधिक क्षमता अभिवृद्धि भएको र माटोमा रहेका १६ प्रकारका आवश्यक खाद्य तत्वहरूको भूमिकाबारे समेत नयाँ ज्ञान प्राप्त भएको बताएका छन्।

शिविरले स्थानीय कृषकहरूको जैविक कृषि प्रवर्द्धन र बाली संरक्षणमा दीगो सोच विकास गर्न सहयोग पुर्‍याएको आयोजकहरूले बताएका छन्।

ताजा समाचार

Related Articles