रौतहट, २१ कार्तिक । रौतहट जिल्लामा विभिन्न आपराधिक घटनामा संलग्न भई फरार रहेका अभियुक्तहरूलाई प्रहरीले पछिल्लो समय एकपछि अर्को गर्दै पक्राउ गरेको छ । जिल्लाको सुरक्षा र अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउनका लागि सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत बैंकिङ्ग कसुर, ज्यान मार्ने उद्योग, लुटपाटदेखि कारागारबाट भागेका कैदी–थुनुवासम्मलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिनुभयो ।
गरुडा नगरपालिका–५ शिवनगरका ३५ वर्षीय अभय कुमार प्रसाद साहले माधवनारायण नगरपालिका–१ निवासी ६९ वर्षीय प्रयाग महतोबाट आठ लाख रुपैयाँ सापटी लिएर दिएको चेक बाउन्स भएपछि फरार रहनुभएको थियो । उहाँलाई प्रहरीले कार्तिक १८ गते पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिनुभयो ।
त्यसैगरी बौधिमाई नगरपालिका–१ अजगैबीका ३० वर्षीय किसोरी प्रसाद यादवले परोहा नगरपालिका–७ का पवन कुमार यादवलाई १ लाख ७५ हजार रुपैयाँ सापटीबापत दिएको चेक बाउन्स भएपछि फरार रहनुभएको थियो । सोही दिन उहाँलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको हो ।
यस्तै चोरी मुद्दामा १ वर्ष १ महिना १५ दिन कैद र १ लाख ५४ हजार ७ सय रुपैयाँ जरिवाना ठहर भई २०६१ सालको फैसलापछि फरार रहनु भएका राजदेवी नगरपालिका–८ का दिनेश कुमार चौधरीलाई प्रहरीले कार्तिक १५ मा पक्राउ गरी अदालतमा पेस गरिनुभएको छ ।
गरुडा–६ पोठियाहीमा भदौ ३० गते शम्भु माझीलाई कुटपिट गरी घाइते बनाउने घटनामा संलग्न फरार अभियुक्त राजकिशोर यादवलाई प्रहरीले कार्तिक १७ मा पक्राउ गरिनुभएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिनुभयो ।
वृन्दावन नगरपालिका–३ विश्रामपुरका ४० वर्षीय युगल किशोर यादवले प्रेमशंकर यादवलाई रड र फाइटरले प्रहार गरी गम्भीर घाइते बनाएको घटनामा संलग्न रहेका कारण उहाँलाई पनि सोही दिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रबिन कार्कीले जानकारी दिनुभयो ।
त्यस्तै माधवनारायण नगरपालिका–४ मानपुरमा आफ्नै घरमा मठ निर्माण गरी बस्दै आएका रामएकवाल मुखियामाथि धारिलो हतियार प्रहार गरी हत्या प्रयास गरेको अभियोगमा फरार रामअज्ञा मुखिया बिनलाई प्रहरीले कार्तिक १९ मा पक्राउ गरी अनुसन्धान अघि बढाएको उहाँले बताउनुभयो ।
गरुडा–६ पोठियाही–दुधियाभार सडकमा मर्निङ वाकमा रहेका २१ वर्षीय धिरज कुमार राममाथि छुरा प्रहार गरी मोबाइल लुट्ने घटनामा संलग्न ईशनाथ नगरपालिका–३ बस्ने २१ वर्षीय मनिष कुमार साहलाई प्रहरीले कार्तिक १८ गते झाझ पुल क्षेत्रबाट पक्राउ गरेको हो ।
वृन्दावन नगरपालिका–८ बहुअरीका नईमुदिन दर्जीले २०८१ साउन ३२ गते मनोज प्रसाद यादवको घरमा अनधिकृत प्रवेश गरी आगजनी गरेको घटनामा संलग्न रहेकाले उहाँलाई पनि कार्तिक १७ मा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विष्णु प्रदिप बस्यालले जानकारी दिनुभयो । त्यसैगरी ईशनाथ नगरपालिका–७ का जादोलाल साहविरुद्ध मौजेलाल साहले दायर गरेको लेनदेन मुद्दामा अदालतबाट १ महिना कैद फैसला भएपछि फरार रहनुभएकाले उहाँलाई पनि कार्तिक १९ मा पक्राउ गरी अदालतमा पेश गरिएको सूचना अधिकारी बस्यालले बताउनुभयो ।
आन्दोलनको क्रममा भदौ २४ गते गौर कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दाका कैदी, चन्द्रपुर–१ का ४७ वर्षीय नागेन्द्र माझीलाई गाउँमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले कार्तिक १९ मा पक्राउ गरी पुनः कारागारमा बुझाएको उहाँले जानकारी दिनुभयो ।
त्यो आन्दोलनकै दिन भागेका जबरजस्ती करणी मुद्दाका थुनुवा, देवाही गोनाही–६ का सुधिर कुमार राम भने कार्तिक १९ मा आफैं कारागारमा हाजिर हुनुभएको सूचना अधिकारी बस्यालले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक रबिन कार्कीका अनुसार जिल्लामा अपराध नियन्त्रणका लागि प्रहरीले नियमित अनुगमन, सूचनाको प्रभावकारी प्रयोग र प्रविधिमार्फत निगरानीलाई तीव्र बनाएको छ । उहाँले भन्नुभयो, “फरार अभियुक्तहरूलाई कानुनी दायरामा ल्याउन र जिल्लाको शान्ति सुरक्षा सुनिश्चित गर्न प्रहरी निरन्तर सतर्क रहन्छ ।”

