रौतहटको कटहरियाको ताला अझै खुल्न सकेन , सेवाग्राही अन्योलमा

रौतहट २१ कार्तिक
रौतहटको कटहरिया नगरपालिकामा लागेको तालाबन्दि अझै खुल्न सकेको छैन । सो नगरपालिकाका अस्थायी र करार कर्मचारीहरुले तलब नदिएको भन्दै उनीहरुले नगरपालिकामा ताला लगाएको १० दिन भइसक्दा पनि सो समस्या समाधान हुन नसक्दा नगरपालिकाको सम्पुर्ण कामकाज अहिले ठप्प छ । कटहरिया नगरपालिकाका सम्पुर्ण वडाहरुमा समेत ताला लगाइएकाले नगरपालिका अहिले अस्थब्यस्त बनेको छ । बिहीबार पनि उनीहरूले मुख्य गेट अगाडि टायर बालेर विरोध जनाएका थिए । आज पनि बिरोध धर्नाका कार्यक्रमहरु निरन्तर गरिरहेको र तलब भुक्तानी नदिएसम्म ताला नखोलिने आन्दोलनरत कर्मचारीहरुले बताएका छन । नगर प्रमुख अजय प्रकाश जयसवालले ७० जनाको सट्टा १७० जनाको नाममा तलब निकासा गर्न दबाब दिएपछि प्रमुख प्रशासकिय अधिकृतले तलब भुक्तानी रोकेको कर्मचारीहरूको बताएका छन । नगरपालिकामा कार्यरत कर्मचारी ७० जना रहेको र तर नगर प्रमुख जयसवालले १७० जनाको तलब निकासाका लागी सिफारिस गरेपछि असहमति जनाउँदै प्रमुख प्रशासकीय अधिकृत गणेश नेपालीले भुक्तानी रोकेका जनाइएको छ । तर नगर प्रमुख जयसवालले अधिकृतले अटेर गरेको दाबी गर्नु भएको छ । आफुहरुले पटक–पटक लिखित र मौखिक आश्वासन पाएका तर कार्यान्वयन शून्य रहेको कर्मचारीहरुको भनाई रहेको छ । तालाबन्दीका कारण जन्मदर्ता, मृत्यु दर्ता, सिफारिस लगायत अत्यावश्यक सेवाहरू समेत ठप्प भएका कारण स्थानिय नागरिकहरु अन्योलमा परेका छन । नगर प्रमुख जयसवालले वडाध्यक्षहरूले कर्मचारीको हाजिरी, नियुक्तिपत्र र विवरण नबुझाएकाले ढिलाइ भएको प्रतिक्रिया दिएका छन । जयसवालले सबैको तलब भुक्तानी गर्न आफु तयार रहेको तर आधारहीन तालाबन्दीले जनता दुःख पाएको जयसवालको भनाइ रहेको छ । विगतमा पनि यसरी नै तलब विवादले ३१ दिनसम्म तालाबन्दी भएको थियो । अहिले पनि कर्मचारीहरूले माग पूरा नभएसम्म आन्दोलन नरोक्ने अडान लिएका छन ।

ताजा समाचार

Related Articles