रुपेन्द्र पटेल
रौतहट, १९ कार्तिक । रौतहटको सदरमुकाम गौरमा अवस्थित प्रादेशिक अस्पताल गौरले पछिल्ला समय आफ्नो सेवा प्रणालीलाई उल्लेखनीय रूपमा सुधार गर्न सफल भएको छ । गत असोज २३ गते अध्यक्षमा अवधेश प्रसाद यादव नियुक्त भएपछि अस्पतालको सरसफाइदेखि सेवा प्रवाहसम्ममा उल्लेखनीय परिवर्तन देखिएको हो ।
अध्यक्ष यादवको नेतृत्वमा छोटो अवधिमै अस्पतालको दैनिकी व्यवस्थापन, सरसफाइ र सेवा प्रणाली चुस्त–दुरुस्त बनेको सेवाग्राहीहरू बताउँछन् । यमुनामाई गाउँपालिका–४ की हसिना खातुनका अनुसार, “पहिले ओपीडीमा टिकट लिन लामो समय कुर्नु पथ्र्यो, तर अहिले सजिलै टिकट पाइरहेको छ ।”
यस्तै, उपचारका लागि आएका सुकदेव राउतले अस्पतालमा पहिले दुर्गन्ध र फोहोरले सताउने गर्थे अहिले राम्रो भएको बताए । उनका अनुसार, “पहिला अस्पताल गन्हाउँथ्यो, अहिले भने सफा र व्यवस्थित भएको छ ।”
अस्पतालका अध्यक्ष अवधेश यादवले आफू भर्खरै पदभार ग्रहण गरेको भए पनि सुधारका लागि ठोस कदम चालिएको जानकारी दिए । उनले भने, “कतिपय मेसिनहरू सर्विसिङ नहुँदा प्रयोगमा आउन सकेका छैनन्, तर एकदेखि दुई महिनाभित्र सबै उपकरण सञ्चालनमा ल्याएर सेवा अझ चुस्त बनाउने उनले बताए ।”
अध्यक्ष यादवले अस्पतालका सबै काम पारदर्शी रूपमा हुने बताउँदै, “यदि सेवामा कुनै कमी वा गुनासो भए, सेवाग्राहीले सिधैँ मलाई भन्न सकिन्छ,” जनतालाई प्रत्यक्ष सुझाव दिन पनि उनले आग्रह गरे ।
पछिल्ला सुधार प्रयाससँगै प्रादेशिक अस्पताल गौरप्रतिको जनविश्वास विस्तार हुँदै गएको देखिन्छ । स्थानीयहरूले स्वच्छ वातावरण र सहज स्वास्थ्य सेवा पाएपछि अस्पतालप्रति सन्तुष्टि व्यक्त गर्न थालेको छ ।

