रुपेन्द्र पटेल
रौतहट, १७ कार्तिक। रौतहटको माधवनारायण नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत र नगरप्रमुखविरुद्ध भ्रष्टाचार र आर्थिक अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिएको छ।
अख्तियारको टंगालस्थित केन्द्रीय कार्यालयमा दर्ता भएको उजुरीमा इन्जिनियर नागेन्द्र राय यादव र नगरप्रमुख बैजनाथ प्रसाद यादवले नगरपालिकाको बजेट रकम मनपरी ढंगले प्रयोग गरी सरकारी कोषमा नोक्सानी पुर्याएको उल्लेख गरिएको छ। उक्त उजुरीमा फर्जी बिलभर्पाइ बनाएर कामै नगरी भुक्तानी लिने, २० प्रतिशत कमिशन लिएर मात्र उपभोक्ता समितिलाई रकम छुट्याउने, विकास योजनालाई टुक्र्याएर साना कोटेशनमार्फत ठेक्का बाँड्ने, र सडक बत्ती न्यून दरमा खरिद गरी दस गुणा बढी रकम तिरिएको जस्ता आरोपहरू समावेश छन्।
माधवनारायण नगरपालिका–३ का स्थानीय बासिन्दा आशितोषकुमार यादवले दर्ता गरेको उजुरीमा मेयर यादवले आफूसँग नाताका इन्जिनियर नागेन्द्रलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर नगरपालिकाको नीति र बजेट दुरुपयोग गरेको दाबी गरिएको छ।
निवेदक यादवका अनुसार, उजुरीसँगै निमित्त प्रमुख प्रशासकीय अधिकृत र उपभोक्ता समितिका पदाधिकारीबीचको अडियो संवाद पनि आयोगमा बुझाइएको छ। उक्त अडियोमा “मेयरदेखि अख्तियारसम्म मिलाउनुपर्छ” भन्ने भनाइ सुन्न सकिन्छ। उजुरीमा मेयर यादवले आफू अनुकूलका अधिकृतहरू ल्याएर काम गराउने, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पठाइएका अधिकृतलाई काम गर्न नदिई अवरोध सिर्जना गर्ने, सवारीसाधन र इन्धनको दुरुपयोग गर्ने, सामाजिक सुरक्षा भुक्ता वितरणमा अनियमितता गर्ने जस्ता मुद्दा पनि उठाइएको छ। आर्थिक सहायताको नाममा पदाधिकारीहरूले होटल खर्च गर्ने र सरकारी सम्पत्ति हिनामिना गर्ने कार्यहरू नियमित रूपमा भइरहेका भन्दै उजुरीकर्ताले भ्रष्टाचार निवारण ऐनअनुसार आवश्यक छानबिन र कानुनी कारबाहीको माग गरेका छन्।

