मधेश १६ कार्तिक
मधेसका निजी अस्पतालका स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन् । निजी स्वास्थ्य संस्थाहरूमा भइरहेका श्रम शोषण र दमन अन्त्यको माग गर्दै स्वास्थ्यकर्मीहरू ८ सूत्रीय मागसहित आन्दोलनका पूर्वघोषित कार्यक्रम अनुसार शान्तिपूर्ण आन्दोलनमा उत्रिएका हुन् । आफूहरू लामो समयदेखि न्यून तलब, असमान व्यवहार र असुरक्षित वातावरणमा काम गर्न बाध्य भएको उनीहरूको आरोप रहेको छ । नेपाल सरकारको ऐन अनुसार तलब स्केल लागू गर्नुपर्ने, सरकारी स्वास्थ्य संस्थाका करार कर्मीलाई हटाई लोक सेवा आयोगबाट विज्ञापन गर्नुपर्ने, स्वास्थ्य कर्मीको बीमा र सुरक्षाको व्यवस्था गर्नुपर्ने, हप्तामा अधिकतम ४२ घण्टा मात्र कामको सीमा तोक्नु पर्ने माग स्वास्थ्यकर्मीहरुको गर्दै आएका छन । मन्त्रालयबाट पटक–पटक सूचना जारी भए पनि निजी अस्पतालहरूले कार्यान्वयनमा नल्याएकाले स्वास्थ्यकर्मीहरूको मनोबलमा गम्भीर असर परेको र आफूहरु बाध्य भएर आन्दोलनमा उतरिएको स्वास्थ्यकर्मी नवेश अधिकारीले तराई पोष्टसँग बताउनु भयो । जिल्ला प्रशासन कार्यालय, श्रम मन्त्रालय, मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए पनि हालसम्म कुनै ठोस पहल नभएको गुनासो स्वास्थ्यकर्मीहरूले गरेका छन । आन्दोलनका क्रममा बिरामी सेवामा समस्या आएमा यसको सम्पूर्ण जिम्मेवारी अस्पताल सञ्चालक र सम्बन्धित मन्त्रालयले लिनुपर्ने उनीहरूको भनाइ रहेको छ ।

