रौतहट १४ कार्तिक
मधेस प्रदेशका ८ जना उत्कृष्ट किसानलाई शुक्रबार प्रदेश सरकारले सम्मान गरेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालय धनुषाले आज आयोजित कार्यक्रममा किसानहरूलाई नगद, सम्मान पत्र र दोसल्लासहित सम्मान गरेको हो । विश्व खाद्य दिवसको अवसरमा ‘स्वच्छ खाना र सुखद् भविष्यका लागि हातेमालो’ भन्ने नारा सहित आयोजना गरिएको सो समारोहमा बारा जितपुर सिमरा–१८ का मकै किसान विनिता गौतम, पर्साका विन्दवासिनी–४ का च्याउ किसान सुजित कुमार चौरसिया, सर्लाहीका बागमती नगरपालिका–११ का मौरी किसान मणि प्रसाद पाण्डे, धनुषाको मिथिला नगरपालिका–८ का तरकारी किसान छविलाल महतो, रौतहटका कटहरिया नगरपालिका–५ का धान किसान रामसिंह राय यादव, सिराहा नगरपालिका–२ का खाद्यान्न बीउ उत्पादक किसान बलराम यादव, महोत्तरी पिपरा–४ का दलहन किसान अरुण ठाकुर र सप्तरी अग्नीसाइर कृष्णासवरण–२ का किसान महावीर प्रसाद चौधरी सम्मानित भएका छन । सम्मानित भएका किसानहरूलाई मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.उमेश दाहालले नगद २५ हजार, दोसल्ला र सम्मान पत्र प्रदान गर्नु भएको थियो । सो सम्मान कार्यक्रममा सचिव दाहालले मधेस प्रदेशलाई मात्र अन्नको भण्डार नभई खाद्यान्न उत्पादनको प्रमुख केन्द्रको रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । कार्यक्रम निर्देशनालयका प्रमुख जितेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा ८ वटै जिल्लाका कृषि ज्ञान केन्द्रका प्रमुख र विभिन्न कृषिसँग सम्बन्धित कार्यालयका प्रमुखहरू सहभागी रहेका थिए ।

