रौतहट ३ कार्तिक
रौतहटको गौरमा आइतबार नगर प्रमुखद्धारा घण्टाघरको उद्घाटन गरिएको छ । रौतहटको गौर नगरपालिकाको बीपी चोकमा निर्माण गरिएको घण्टाघरको आइतबार एक समारोह बिच औपचारिक रुपमा उद्घाटन गरिएको छ । गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले रिबन काटेर घण्टाघरको उद्घाटन गर्नू भएको हो । नगर प्रमुख साहले घण्टाघरको बिचमा स्थापित माता दुर्गाको प्रतिमामा माला र अबिर चढाउँदै नगरको शान्ति, एकता र समृद्धिको कामना गर्नु भएकोछ । गौर नगरपालिकाले १ करोड ५३ लाख ६० हजार ६१६ रुपैयाँमा राष्ट्र निर्माण सेवा राजदेवीसँग निर्माण सम्झौता गरी सो घण्टाघरको निर्माण गरेको हो । निर्माण सेवाले २०८१ पुस ३० गते निर्माण कार्य सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गरेको थियो । सो घण्टाघरमा बीपी कोइरालाको सालिक स्थापना गरिएको थियो तर जेनजी आन्दोलनका क्रममा सालिक भत्किएपछि माता दुर्गाको प्रतिमा स्थापना गरी पूजा–पाठ सुरु गरिएको हो । नगर प्रमुख साहले घण्टाघर गौर नगरवासीको साझा सम्पत्ति भएको बताउँदै यसको संरक्षणमा सबैको जिम्मेवारी रहेको उल्लेख गर्नु भयो ।

