सप्तरीमा गोली हानी पुजारीको हत्या

सप्तरी २ कार्तिक
आइतबार सप्तरीमा एक पुजारीको हत्या भएको छ । आइतबार बिहान सप्तरीको बोदेबर्साइन नगरपालिकाको वडा नम्बर ८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको बिहान हत्या भएको हो । ७३ वर्षीय पुजारी रामदुलार साहको बिहान २ः०० बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारीका परिवारका सदस्य रामसुन्दर साहले तराई पोष्टलाई जानकारी दिनु भयो । गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर एक्लै बस्दै आएका थिए । अज्ञात समूहले पुजारीलाई सडकमा निकालेर पिठ्युमा गोली प्रहार गरेको प्रहरीले जनाएको छ । घटना भएको केही मिनेटमै स्थानीयले काचनलीस्थित प्रहरी चौकीमा खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरबोनाबाट समेत प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान थालेको जनाइएको छ । घटनास्थलबाट दुईवटा गोलीका खोका फेला परेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गौतम कुमार केसीले जानकारी दिनु भयो । प्रहरीले सीमावर्ती क्षेत्रमा शङ्कास्पद व्यक्तिमाथि चेकजाँच तीव्र बनाइएको बताएको छ ।

ताजा समाचार

Related Articles