आज तिहारको पहिलो दिन काग तिहार मनाउदै

रौतहट २ कार्तिक
आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनबाट सुरु हुने पाँच दिने तिहार पर्व आज काग तिहार सहित सुरु भएको हो । बिहान सूर्योदयको समयमा त्रयोदशी तिथि परेकोले आज आइतबार शास्त्रसम्मत रूपमा काग तिहार पर्व मनाइँदै छ । तिहारलाई यमपञ्चक पनि भनिन्छ, जसको पहिलो दिन काग तिहार, दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन लक्ष्मीपूजा, चौथो दिन गाई तिहार र पाँचौँ दिन भाइटिका गरी पाँच दिनसम्म मनाइन्छ । वैदिक सनातन हिन्दु धर्म अनुसार कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजा गरिन्छ । नेपाली समाजमा अझै पनि काग करायो भने पाहुना आउँछ भन्ने जनविश्वास रहेको छ । यस दिन बिहानै कागलाई आदरपूर्वक पूजा गरेर दही भात लगायतका मिठा परिकार अर्पण गर्ने चलन छ । ‘काकेन दधि भक्षितम्‌’ कागलाई दही भात खुवाएमा उसले यमराज समक्ष राम्रो सन्देश पुर्‍याउँछ भन्ने धार्मिक विश्वास छ । कागलाई नदिई आफूले खाएमा पापको भागी भइन्छ भन्ने पनि मान्यता छ । त्यसैले आजको दिन कागलाई प्रसन्न पार्दै यमदण्डरूपी संकटबाट मुक्त रहोस् भनेर प्रार्थना गरिन्छ । यो पर्वले धार्मिक पक्ष मात्र नभई मानिस र जनावर बिचको सम्बन्ध, पक्षीप्रति कृतज्ञता, तथा प्रकृतिप्रतिको सम्मानको सन्देश पनि दिने गरेको छ । आजको दिन काठमाडौँको कागेश्वरी मनोहरा महादेव मन्दिरमा विशेष पूजा आराधना भइरहेको छ । त्यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा तथा दर्शनका लागि भक्तजनको भीड लागेको छ ।

ताजा समाचार

Related Articles