रौतहट, २२ असोज । रौतहटको गौर नगरपालिका–६ सबगढास्थित लचकामा यात्रुवाहक बस दुर्घटना भएको छ । निरन्तरको वर्षापछि सडकमा पानी जमेकाले बस सडकको एक भागमा डुबेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीका अनुसार चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको ना ४ ख ५३१८ नम्बरको यात्रुबाहक बस लचकास्थित जलमग्न सडक खण्ड पार गर्ने क्रममा अनियन्त्रित भएर सडकको बायाँ भागमा डुबेको हो । बसमा सवार १६ जना यात्रुहरूलाई स्थानीय र प्रहरीले सकुशल उद्धार गरेको बताइएको छ ।
दुर्घटनामा मानवीय क्षति नभए पनि बसको आधा भाग पानीमा डुबेकाले गौर–चन्द्रनिगाहपुर सडकखण्ड केही समयका लागि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

