दलित बस्तीमा तोडफोड, वडाध्यक्षसहित पक्राउ परेकामाथि म्याद थप, नौ जना अझै फरार

सिरहा, २१ असोज । सिरहाको कल्याणपुर नगरपालिका–८ अरङमा दलित समुदायको घर तोडफोड गरेको आरोपमा पक्राउ परेका वडाध्यक्षसहितका व्यक्तिमाथि अदालतले थप म्याद दिएको छ ।

इलाका प्रहरी कार्यालय, मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक राजेशराज पुरीका अनुसार सिरहा जिल्ला अदालतले अनुसन्धानका लागि वडाध्यक्ष रामकिशोर यादवमाथि ६ दिन र कैलाश सिंह तथा गणेश कामतीमाथि ७ दिनको म्याद थप गरेको हो ।

यस्तै, घटनामा संलग्न भएको आरोपमा कल्याणपुर–९ का मनोजकुमार यादवलाई पनि मंगलबार प्रहरीले पक्राउ गरेको छ । उनलाई बुधबार म्याद थपका लागि अदालतमा उपस्थित गराइने प्रहरी स्रोतले जनाएको छ ।

गत शुक्रबार दिउँसो सार्वजनिक पोखरीको डिलमा बसोबास गर्दै आएका दलित समुदायका राजकुमार पासवान, रासलाल पासवान, अशोक पासवान, बिन्दे पासवान र सोभित पासवानको घरमा स्थानीय समूहले तोडफोड गरी लुटपाट मच्चाएको थियो ।

घटनापछि पीडितहरूले घरबारविहीन हुने अवस्था आएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले १३ जनामाथि आपराधिक उपद्रव सम्बन्धी मुद्दा दर्ता गरेको हो ।

तीमध्ये वडाध्यक्ष यादवलगायत चार जनालाई पक्राउ गरिएको छ भने मुख्य आरोपी प्रभास सिंहसहित नौ जना अझै फरार रहेको प्रहरीले जनाएको छ । फरारहरूको खोजी तीव्र पारिएको मिर्चैयाका डिएसपी पुरीले जानकारी दिए ।

स्थानीय बासिन्दाका अनुसार दलित समुदाय बस्दै आएको उक्त स्थान सार्वजनिक जग्गा भएको दाबी गर्दै केही व्यक्तिले जबर्जस्ती घर तोडफोड गरेका थिए । घटनापछि त्यहाँ तनाव सिर्जना भएको थियो ।

ताजा समाचार

Related Articles