सप्तरी, २१ असोज । शनिबार साँझदेखि निरन्तर परेको भीषण वर्षापछि सप्तकोशी नदीमा आएको बाढीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–७ स्थित सदा टोल पूर्ण रूपमा जलमग्न बनेको छ । बाढीको पानी घरभित्र पस्दा सो टोलका करिब ४० परिवार विस्थापित भएका छन् ।
तीमध्ये १५ वर्षीय शिवनारायण सदा अहिले सबैभन्दा बढी पीडामा छन् । आमाको किरियामा बसेका बेला बाढीले घर र अन्न दुबै बगाएपछि उनी सडक किनारमा त्रिपालमुनि शरण लिएर बसिरहेका छन् ।
शिवनारायणका अनुसार बाढी आउँदा घरमा जम्मा गरेको अन्नपात, लत्ताकपडा र आवश्यक सामग्री सबै नष्ट भएको हो । “बुवाको मृत्युपछि आमासँग ज्याला मजदुरी गरेर जेनतेन छाक टार्दै थिएँ,” उनले आँसु पुछ्दै भने, “तर अहिले आमा पनि गुमाएँ, बाढीले घर पनि बगायो, अब म कहाँ जाऊँ ?”
शिवनारायणका बुवा सुरेन्द्र सदाको मृत्यु उपचार अभावमै भएको थियो । लामो समयदेखि ढाड दुख्ने समस्या भएकाले उनी उपचारका लागि स्थानीय स्वास्थ्य चौकीदेखि सदरमुकामसम्म धाए पनि आर्थिक अभावले ठूलो अस्पतालमा जान सकेनन् । दुःखको कुरा, ३० वर्षको उमेरमै उनको निधन भयो ।
आमाको पनि स्वास्थ्य समस्या भएपछि करिब एक महिना अघि उनलाई ज्वरो र कमजोरीको समस्या देखिएको थियो । गाउँमा औषधि खाएर पनि निको नभएपछि उनी उपचारका लागि माइती गाउँ कुम्याही (सुनसरी) पुगेकी थिइन् । तर त्यहाँ पुगेको दुई दिनमै, गत सोमबार २९ वर्षकै उमेरमा विजलीदेवीको पनि मृत्यु भयो ।
बुबा–आमाको मृत्युले बेसहारा बनेका शिवनारायण अहिले किरिया संस्कार पूरा गर्ने खर्च जुटाउन धाउने भएका छन् । “किरियाको भोज दिदीले ऋण लिएर गर्नुभयो, अब अरू दिन कसरी गर्ने थाहा छैन,” उनले भने ।
बाढीले डुबानमा परेको सदा टोलका अधिकांश घर दलित समुदायका हुन् । दुई दिनदेखि त्रिपालमुनि बसोबास गरिरहेका बस्तीका बासिन्दाहरू भुजा र चाउचाउ खाएर जीवन धानिरहेका छन् ।
स्थानीय बासिन्दा अनुसार बाढीपछि अहिलेसम्म न त स्थानीय जनप्रतिनिधि पुगेका छन्, न त राहतका सामग्री नै पुगेका छन् । “सबै जना त्रिपालमुनि छन्, बालबालिका भोकै छन्, रोग फैलिने डर बढेको छ,” स्थानीयले बताए ।
कोशी नदीको पश्चिमी तटबन्ध नजिक बसोबास गर्दै आएका यी परिवारहरू हरेक वर्ष बाढीको जोखिममा पर्छन् । तर स्थायी पुनर्वासका लागि कुनै पहल नहुँदा उनीहरू हरेक वर्ष यहीँ पीडा भोग्दै आएका छन् ।
बाढीपछि शिवनारायण जस्ता बालकका लागि तत्काल राहत, अस्थायी आवास र पुनःस्थापनाको आवश्यकता देखिएको छ । तर स्थानीय प्रशासनले भने बाढीको क्षतिको प्रारम्भिक विवरण संकलनको काम भइरहेको जनाएको छ ।

