बेपत्ता दुई बालिकाको शव फेला, विपद्को घटनामा परी रौतहटमा सात जनाको ज्यान गयो

रौतहट, २१ असोज । अविरल वर्षा सँगै आएको बाढी र चट्याङका कारण रौतहटमा मानवीय क्षति भएको छ । पछिल्लो तीन दिनयता विभिन्न स्थानमा भएका घटनामा परेर सात जनाको मृत्यु भएको पुष्टि भएको छ ।
देवाही गोनाही नगरपालिका–६ कर्कच गाउँस्थित खेतको भंगालोमा सोमबार नुहाउन गएकी दुई बालिकाको शव मंगलबार फेला परेको छ । नुहाउने क्रममा डुबेर बेपत्ता भएकी रामदयाल रामकी १२ वर्षीया छोरी आरती कुमारी र शिवधारी रामकी ११ वर्षीया छोरी अन्तिमा कुमारीको शव सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय देवाहीको संयुक्त टोलीले फेला पारेको हो ।
आरतीको शव बिहान १० बजेतिर फेला परेको र अन्तिमाको शव केही पर जलकुम्भीमा अड्किएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम् डिएसपी राजु कार्कीले जानकारी दिए । दुबै शवलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाउको छ ।
त्यसअघि, राजपुर नगरपालिका–८ बलुवा गोठ टोलमा सोमबार दिउँसो १० वर्षीय अरबाज मिया बकैया नदीमा डुबेर मृत्यु भएका थिए । उनी नुहाउने क्रममा नदीले बगाएको र सुरक्षाकर्मी र स्थानीयले उद्धार गरी स्वास्थ्य केन्द्र पु¥याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।
आईतवार राति इशनाथ नगरपालिका–१ बन्जरहा गाउँकी ६० वर्षीया राजकुमारी देवी बाढीको पानीमा बगेर मृत्यु भएकी थिइन् । घरको भर्याङबाट लडेर पानीमा खस्दा उनको घटनास्थलमै ज्यान गएको बताइएको छ ।
यस्तै, माधवनारायण नगरपालिका–८ खडकी रजबाडा गाउँकी ७५ वर्षीया पनमा देवी यादव बागमती नदीमा दाउरा टिप्ने क्रममा बगेर मृत्यु भएकी थिइन् । निरन्तर वर्षा पछि नदीमा आएको बाढीका कारण उनी बगाएको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीको सहयोगमा उनको शव फेला पारिएको थियोे ।
त्यस्तै, कटहरिया नगरपालिका–२ हथियाही टोलमा आइतवार साँझ परेको चट्याङले दुई युवाको ज्यान लिएको थियो । मेरुलाल लहेरीका १७ वर्षीय छोरा सरोज लहेरी र रामध्यान राय यादवका १६ वर्षीय छोरा नविन यादव चट्याङ लागेर घटनास्थलमै मृत्यु भएका थिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार हालसम्म बाढी, डुबान र चट्याङका घटनामा परेर ७ जनाको मृत्यु भइसकेको छ । एक जना अझै बेपत्ता छन् भने एक जना घाइते अवस्थामा छन् ।
सुरक्षा निकायले राहत तथा उद्धार कार्यलाई तीव्रता दिएको भए पनि नदी, खोलामा नुहाउन, माछा मार्न वा दाउरा टिप्न नजान सर्वसाधारणलाई आग्रह गरिएको छ ।

ताजा समाचार

Related Articles