काठमाण्डौं, २० असोज । भदौ २४ मा कारागारबाट भागेका साढे १४ हजारमध्ये पाँच हजार ८१२ कैदीबन्दी अझै कारागारबाहिर छन्। कारागार व्यवस्थापन विभागका अनुसार आजसम्म उपस्थित हुनेलाई थप सजाय नहुने निर्णय गरिएको छ ।
सोमबार दिउँसो १ बजेसम्मको तथ्यांकअनुसार पाँच हजार ८१२ जना अझै फरार रहेको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले बताए । ‘आज ठुलो संख्यामा कारागारमा फर्किरहेका छन्, कतिपयले बाटोमा रहेको भनेर कारागारलाई जानकारी गराएका छन्,’ महानिर्देशक शर्मा भन्छन्, ‘पटक–पटक सूचना जारी गरेर आजसम्मको म्याद दिएका छौँ, अझै उपस्थित नहुनेको हकमा के कारबाही गर्ने भन्ने कुरा गृह मन्त्रालयको निर्देशनअनुसार अघि बढ्छौँ ।’
गृह मन्त्रालयको गत १० असोजमा बसेको बैठकले २० गतेसम्म उपस्थित नहुनेलाई कारागार ऐन, २०७९ अनुसार थप सजाय गर्ने निर्णय गरेको थियो । साथै फरार कैदीबन्दी खोज्नका लागि ७७ जिल्लामै सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन गरिएको छ ।

