रौतहटमा प्रहरीको आग्रह : नदी–खोला तथा डुबान क्षेत्र नजिक नजान अनुरोध

रौतहट, २० असोज । अविरल वर्षासँगै रौतहट जिल्लाका विभिन्न नदी, खोला र नालामा पानीको बहाव असामान्य रूपमा बढेपछि जनधनको क्षति भएको र थप जोखिम यथावत रहेकाले जिल्ला प्रहरी कार्यालय रौतहटले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

जिल्ला प्रहरी कार्यालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो वर्षाको कारण डुबान र बाढीको जोखिम अत्यधिक बढेको भन्दै कुनै पनि प्रयोजनका लागि — माछा मार्न, पौडी खेल्न, नुहाउन वा काठ–दाउरा संकलन गर्न — नदी, खोला, नाला तथा डुबान हुन सक्ने स्थानहरूको नजिक नजान आग्रह गरेको हो।

प्रहरीले विशेषगरी अभिभावकहरूलाई आफ्ना बालबालिका र वृद्धवृद्धालाई ती जोखिमयुक्त क्षेत्रमा नपठाउन अनुरोध गरेको छ। विज्ञप्तिमा भनिएको छ, “अविरल वर्षाको कारणले नदी–खोलामा पानीको प्रवाह अकल्पनीय रूपमा बढेको छ, जसका कारण डुबान र दुर्घटनाको सम्भावना उच्च छ। कृपया सजग रहनुहोस् र अरूलाई पनि सचेत गराउनुहोस्।”

त्यससँगै प्रहरी कार्यालयले खानेपानी र सरसफाइमा विशेष ध्यान दिन सबै जनसमुदायलाई अपिल गरेको छ। वर्षाका कारण खानेपानीका मुहानहरू दुषित हुन सक्ने भएकाले उमालेर वा फिल्टर गरेर मात्र सेवन गर्न सुझाव दिइएको छ। “दुषित पानीबाट हैजा, झाडापखाला जस्ता रोग फैलिन सक्ने सम्भावना रहेकाले स्वच्छता र सावधानी अत्यावश्यक छ,” विज्ञप्तिमा उल्लेख छ।

प्रहरीका अनुसार अविरल वर्षाका कारण देवाही गोनाही र राजपुर क्षेत्रलगायतका स्थानहरूमा दुर्घटनाका घटनाहरूसमेत भएका छन्। त्यसबारे थप विवरण संकलन भइरहेको र राहत तथा उद्धारका गतिविधि निरन्तर जारी रहेको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालयले यो आपतकालीन अवस्थामा धैर्यता र संयमता अपनाउन सबै जनसमुदायलाई अपिल गरेको छ। 

ताजा समाचार

Related Articles