रौतहटमा खोलाले बगाउँदा एक बालकको मृत्यु, दुई बालिका बेपत्ता

रौतहट, २० असोज । अविरल वर्षापछि बढेको खोलाको पानीमा नुहाउन गएका एक बालकको डुबेर मृत्यु भएको छ भने दुई बालिका बेपत्ता भएका छन्।
राजपुर नगरपालिका–८ बलुवा गोठटोलका १० वर्षीय अरवाज मियाको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीले जानकारी दिए ।
दिउँसो करिब २ बजे घर नजिकको बकैया खोलामा नुहाउन गएका बालकलाई खोलाले बगाएको स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सो सूचना पाएपछि इलाका प्रहरी कार्यालय राजपुरका प्रहरी वरिष्ठ नायब निरीक्षक राजेन्द्र गिरी र सशस्त्र प्रहरी फतुवा बेसका सशस्त्र प्रहरी निरीक्षक पूर्णबहादुर तामाङको टोलीले खोजी गर्दै ४० मिनेटपछि बालकलाई फेला पारेको प्रवक्ता कार्कीले बताए।
फेला परेका बालकलाई तत्काल उपचारका लागि राजपुर प्राथमिक उपचार केन्द्र फरदहवामा लगिएको थियो । तर स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेको डीएसपी कार्कीले जनाए ।
यसैबीच, आजै (सोमबार) दिउँसो रौतहटको देवाही गुनाही नगरपालिका–६ कर्कचटोलमा नुहाउन गएका दुई बालिका बेपत्ता भएका छन्। कर्कचटोलका रामदयाल रामकी १२ वर्षीया छोरी आरती कुमारी र सोही गाउँका शिवधारी रामकी ११ वर्षीया छोरी अन्तिमाकुमारी दिउँसो साढे २ बजेदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ।
ती बालिका खेतको भँगालोमा नुहाउन गएका थिए । वर्षाको कारण पानीको बहाव बढेपछि उनीहरू बगेको अनुमान गरिएको छ। प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार अहिले बालिकाहरूको खोजी कार्य तीव्र रूपमा जारी छ।
प्रहरीले वर्षायाममा नदि, खोल्सा र भँगालोमा जान नहुने र अभिभावकहरुले साना बालबालिकाको विशेष हेरचाह गर्न आग्रह गरेको छ ।

ताजा समाचार

Related Articles